राजधानी शहरको कोलाहल देखि सीतापाईला–धार्के सडक खण्ड हुँदै करिव ६ कि.मि. को दुरीको पश्चिम तर्फको यात्रापश्चात सुन्दर गाउँ भिमढुङ्गामा पुगिन्छ । गाउँ जति सुन्दर र स्वच्छ छ त्यतिनै मात्रामा यस ठाउँमा रहेको भिमसेन मन्दिरको ऐतिकासिक महत्व पनि रहेको छ । मौलिक पहिचान र संस्कृतिले भरिपूर्ण यो ठाउँ दहचोक कालुपाण्डे स्मारक र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिकै रहेको ऐन डाँडाको विच भू–भागमा रहेर प्राकृतिक छटासँग खेलिरहेको अनुभव हुन्छ यहाँ पुग्नेहरु जो कसैका लागि पनि । भिमढुङ्गा आफैमा प्राचिन एवं पुरातात्विक महत्वले भरिपूर्ण स्थान त हो नै तर यति हुँदा हुँदै पनि यो ठाउँको बारेमा सबैलाई जानकारी नहुन सक्छ । यसो हुनुमा यहाँका स्थानिय व्यक्तिको चासो कम हुनुका साथ साथै राजनैतिक पहुँचेले पछाडी पारिनु पनि अर्को कारण बनेको छ ।
नागार्जुन नगरपालिकामा पर्ने यो ठाउँ साविक भिमढुङ्गा गा.वि.स मा पर्दथ्यो । राज्यको पुन संरचनानुसार पश्चात हाल यस स्थान काठमाण्डौं जिल्ला नागार्जुन नगरपालिका वडा नं ८, संघिय निर्वाचन क्षेत्र नं ९ प्रदेश ख अन्तर्गत पर्छ । साविक ईचंगु, सीतापाई, रामकोट, भिमढुङ्गा र स्युचाटार गाविसहरु मिलेर बनेको नागार्जुन नगरपालिकामा रहेका १० वटा वडाहरु मध्ये प्राचिन महत्व रहेको एउटै वडा नं ८ जुन भिमढुङ्गा नामले परिचित छ । पृथ्वीनारायण शाहको गोरखा दरबार देखि काठमाण्डौ जिल्ला अर्थात राजधानी शहर हनुमानढोका दरबारमा दशै घरमा भित्राउने फूलपाति यहि भिमढुङ्गाको बाटो भई आउने र भिमसेन मन्दिरमा परिक्रमा गराई लैजाने प्रचलन अहिले पनि जिवितै छ । पुर्वमा यसै नगरपालिकाको वडा न.६ (रामकोट), दक्षिणमा वडा न.७,पश्चिममा धादिङ्ग जिल्लाको धुनीवेशी नगरपालिका र उत्तरमा नागार्जुन जंगल रहेकोयस वडा ६ वर्ग किलोमिटरमा फैलिएर नगरपालिकाको कुल भू–भागको २०.१३ प्रतिशत क्षेत्रफल ओगटेको छ । काठमाडौं उपत्यकाको हनुमान ढोका दरबारबाट करिव ९ कि.मी.पश्चिममा अवस्थित यस वडा संसदिय निर्वाचन क्षेत्र नं. ९ मा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाको कूल जनसंख्या २९१५ (महिला १४३१ र पुरुष १४८४) रहेको थियो ।
कसरी उत्पत्ति भयो भिमसेन मन्दिर ?
यस ठाउँको नाम भिमढुङ्गा रहनुमा पनि भिमसेनको मन्दिर र उनले चढ्ने गरेको ऐतिहासिक ढुङ्गाद्धारा निर्मित डुङ्गासँग जोडिएको किंवदन्तिलाई लिन सकिन्छ । प्रचलित किंवदन्ति र जनश्रुतिलाई आधार मानेर हेर्दा भिमढुङ्गा र भिमसेन विचको रोचक कहानी जीवितै छ । द्धापर युगमा पाण्डुका छोरा पाँच पाण्डब मध्ये माईलो भाई भिमसेन अत्यन्तै वलावान र पराक्रमि थिए । उनमा हजार मत्ता हात्तिसरीको वल थियो तथापि यिनी आफ्ना दाजु युधिस्टिरका कुरालाई सिरोधार्य गर्ने हुँदा रिसाए पनि आफ्नो वललाई कावुमा लिने गरेका थिए । राज्यहरण वनवास र गुप्तवास यिनका लागि सहज थिएन । निष्टार धर्ममा बाच्न सिकेका भिमसेन वल हुँदा हुँदै आफ्नै अगाडी द्रोपतिको सभामा वस्त्रहरण गरेको दृष्य उनका जीवनमा मुटुको खिल बनीरह्यो । तैपनि तत्काल दुर्योधनलाई केहि गर्न खोज्दा दाजुका कारण रोकिन परेको घटनाले उनको आत्मा विक्षिप्त भयो र भड्किन थाल्यो । यहि कारण आत्म शान्तिका लागि हिमालय पर्वततिर लागे । रिसको ज्वाला साम्य नहुँदा गति र मतिले काम गदैन भने झैं बाटो विराउँदै नेपाल खाल्डोतिर उकालो लागे ।
बाटो अगाडी बढेर जाँदै जाँदा एउटा ठुलो दहमा पुगे । दल विशाल थियो, उनी रोकिन चाहेनन् । अगाडी बढ्ने दृढताका साथ डुङ्गामा सवार हुने विचार गरे । त्यो दह अरु कुनै नभएर काठमाण्डौ उपत्यकाको दह थियो,(जहाँ अहिले काठ्माडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला पर्छ) । उनलाई चानचुने डुङ्गाले भार थेग्न सक्ने थिएन । त्यस कारण भिमसेनले आफ्नो ढुङ्गाद्धारा निर्मित डुङ्गामा सवार भै दहको चारैतिर डुलिरहने गर्न थाले । कहिले काही दह बाहिर के रहेछ भनेर घुम्दै जाँदा एकदिन उनको भेट सुप्रभा नगरका दानव राजाकी छोरी प्रभावतीसँग भयो । उनिसँगको पहिलो भेटमै भिमसेनको माँया प्रेम गाँसियो । उनी साझ पख दहतिर फर्कर्दै गरे पनि उनको ध्यान पर्वत उक्लने तर्फ लागेन बरु प्रभावतीसँग भेट्ने ईच्छा जागेर आयो । उता प्रभावती पनि भिमसेनको मायाँमा लिप्त भईन । दुबैको गाढा पिरतिले गर्दा मायाँ साटासाट गर्ने ईच्छा जागृत भयो । फलस्वरुप एक दिन भिमसेनलाई कामसरले पिडा पुर्याए पछि त्यसठाउँबाट अनेत्र गई विहार गर्ने अठोट गरी नागार्जुन डाँडाको फेदमा पुगे । सुन्दर ताल, वरिपरि हरियाली छटाहरु भरिभराउन हुनु र अर्का तिर सुन्दर प्रेमीको जोडी एकबाट अर्को छुटिन सक्ने अवस्थामा रहेनन् । प्रभावतीसँगको प्रेममा चुर्लुम्मै डुब्दै वाहिर निस्कन नसक्ने स्थितिमा पुगेका भिमसेन एकदिन आफूले चढेको ढुङ्गाको डुङ्गा तालको छेउ अर्थात नागार्जुन डाँडाको फेदमा राखी पे्रम लिालामा भासिए । केहि क्षणको आनन्द पश्चात तालको छेउमा राखेको डुङ्गा चढेर जाने विचारले अगाडी बढे तर पुरै बाहुवल लगाएर तान्दा पनि डुङ्गा बाहिर आएन र त्यहि भाँसियो । यस्तो अचम्म देखेपछि आश्चर्य चकित हुदै आफ्नो प्रेमिकालाई समेत वेवास्था गरी भिमसेन तत्कालै गायव भए तथापि उनको मनले प्रभावतीलाई भने विर्सन सकेन । भनिन्छ, त्यही पल मञ्जुश्रीद्धारा आफ्नो हातमा रहेको खड्गले चोभारको डाँडा काटी काठमाण्डौ उपत्यका दहको पानी बाहिर निकासा गरेका थिए रे ! यस्तो चमत्कारी पूर्ण परिघटना घटेपछि त्यस दिन देखि भिमसेन डुङ्गमा सवार भै उक्त ठाउँमा घुम्न जान छाडे ।
भोलिपल्ट देखि प्रभावती प्रेमको पिडामा पागल हुँदै भिमसेनको खोजि कार्यमा लागिन । राजा दानासुरले आफ्नी छोरी गायव भएपछि खोजिका लागि सारा सैनिक परिचालन गरे । जहाँ तहिँ खोजे तर पत्ता लगाउन नसकि हार मानेर दरबारतिर फर्किए । उता भिमसेनलाई कहिँ पाउन नसकेर हारमानी प्रभावतीले रानीवनको फेदमा बसेर प्राण त्यागी मृत्यू बरण गर्ने निधोमा पुगिन । तर अकस्मात त्यहि रात प्रभावतीले यस्तो सपना देखिन, “प्रिय ! तिमी प्राण त्यग नगर” म त्यहि डाँडाको फेदमा अरुले नदेखुन भनेर गायव भएको छु ,तिमी हरेक रात मलाई भेट्न सक्नेछौं, मैले तिमीलाई विर्सन सकेको छैन ।” त्यसपछि हरेक रात प्रभावती आफ्नो प्रेमी भिमसेनलाई भेट्न जान्थिन् । रातभरी दुबैको भलाखुसारी हुन्थ्यो र विहानी पख झिसमिसेमा पुनः भेट्ने बाचा गरी प्रभावती त्यस ठाउँबाट गायब हुन्थिन् । यो कुराको चाल कसैले पाउन सकेनन् । उनका सन्तान पनि जन्मिए तर वलवान हुनाले त्यहाँ बसेनन् । भिमसेनले भने विक्षिप्त भएको वेलामा पाएको प्रेमलाई आफ्नो अविष्मरणिय पे्रमक्रिडाको स्थल बनाउनु उचित ठानेर स्वयम् मन्दिरका रुपमा उत्पत्ति हुने ईच्छा प्रकट गरेकाले त्यस ठाउँमा अकस्मात मन्दिर उत्पत्ति भयो ।
के छ यसको ऐतिहासिक महत्व ?
महाभारतमा पनि लेखिएको छ कि भिमसेन ज्यादै वलवान थिए । उनको हजार हात्ति बराबरको वल थियो । सायद त्यसै कारणले पनि होला आफ्नो भार थेग्न जलक्रिडाको समयमा भिमसेनले सधैं ढुङ्गाको डुङ्गा चढेर सवार गर्दथे । उनले खेल्ने गरेको ढुङ्गाद्धारा निर्मित गुच्चा हाल काठमाण्डौको भिमसेन गोलामा देख्न सकिन्छ । भिमसेनको डुङ्गा गायब भएको स्थान पछि अपभ्रंस हुँदै भिमढुङ्गाका नामले नामाकरण हुन गयो । भिमढुङ्गाको यो भिमसेन मन्दिर अर्को ऐतिहासिक कारणले पनि महत्वपूर्ण छ । त्यो के हो भने गोरखा दरबार र हनुमानढोका दरबार बिचको ऐतिहासिक सम्बन्ध जोड्ने सेतु । नेपालीहरुको महान चाड दशैको पावन अवसरमा हनुमानढोका दरबारमा भित्र्याउने फूलपाति गोरखा दरबारबाट जीवनपुर हुँदै भिमढुङ्गाको यसै भिमसेन मन्दिरलाई विधिवत दाँया तर्फबाट परिक्रमा गराउँदै सोहि दिन ब्राम्हणद्धारा जमलसम्म पुर्याईन्छ । जमलबाट गुरुजु पल्टनको बाजागाजा सहित हनुमानढोका दरबारमा साईत पारेर बिधिबत फूलपाति भित्रउने चलन अझै पनि कायमै छ । हनुमानढोका दरबारमा फूलपाती भित्रिए पछि सर्वसाधारणले आ–आफ्नो घर घरमा परम्परानुसार फूलपाती भित्र्याएर हरेक बर्ष दशैलाई स्वागत गर्दछन् । उक्त मन्दि नजिकै एउटा मौलो पनि छ । पहिला सो स्थानमा कोतघर थियो रे जहाँ जमरा पनि राखिने थियो भन्ने सुनिन्छ तर उहिले त्यस ठाउँमा दशैमा जमरा राखिदैन । हरेक वर्ष दशैमा मौलो पूजा चाही वडा कार्यालयले गर्दै आएको छ ।
यो ठाउँ गोरखा जिल्लाको माता मनकामना मन्दिर दर्शनको काठमाण्डौ उपत्यकाको पश्चिमद्धार हुनाले पनि यहाँको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट भिमसेनको मन्दिरलाई अझ बढी महत्व दिनु पर्ने देखिन्छ । विभिन्न रुपहरु मध्ये दोलखाको भिमसेनलाई जति महत्वका साथ शक्तिसालि मानिन्छ, त्यसको दोस्रो शक्ति स्वरुप भिमढुङ्गाको भिमसेनलाई मान्ने गरिएको तथ्य जीवितै छ । नेवारी समुदायको अत्यन्तै प्रभावशाली शक्तिसम्पन्न देवताका रुपमा भिमसेनलाई मानिने हुँदा यहाँको मौलिक नेवारी परम्परा र संस्कृतिले समाजमा बेग्लै पहिचान बनाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हो हरेक वर्ष भिमाएकादशीका दिन चलाईने भिमसेन जात्रा । नेवार समुदायले भिमाएकादशीको दिन भिमढुङ्गाको उक्त भिमसेनलाई विधिवत रथारोहण गरी त्यसको ठिक भोलिपल्ट द्धादशिका दिन भिमेश्वर जात्रा गर्र्नु यहाँको अर्को स्थानिय संस्कृतक पक्ष रहेको पाईन्छ । यिनै संभावनालाई पर्यटकिय विकासमा रुपान्तरण गर्दै सांस्कृतिक उत्थानका लागि काम गर्न कृयासिल स्थानिय भिमढुङ्गा पर्या–पर्यटन विकास समितिले प्रचारप्रसार गर्ने योजना अगाडी सारेको भएपनि वजेट अभावमा ति कामहरु पुरा हुन सकेका छैनन् । हालको समयमा उक्त समिति प्राय निस्कृय जस्तै भैसकेको छ ।
यहाँबाट काठमाण्डौ उपत्यकाको दृष्यावलोकन सजिलैसँग गर्न सकिन्छ । भिमढुङ्गाबाट धादिङ्ग, नुवाकोट लगायत गोरखा जिल्ला पनि यहाँबाट देख्न सकिन्छ । यसका साथै अलि माथि दहचोक डाँडाको कालुपाण्डे स्मारक, स्विट्जरल्याण्ड पार्क लगायत गोरखाको मनकामना मन्दिर समेत यस ठाउँबाट स्पस्ट देख्न सकिन्छ । यहाँबाट नजिकै रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको गे्रटवाल सैलिमा निर्मित ऐन डाँडाको रस्वासदन गर्दै गणेश हिमालको दृष्यलाई क्यामरामा समेत यसै ठाउँबाट सजिलै कैद सकिन्छ । त्यसको ठिक उत्तरतर्फ रहेको थाप्ले लामागाउँमा बसेर सूर्योदयो र सूर्यास्तलाई नजिकैबाट लुकामारी खेलेको हेर्न पाईन्छ । मन्दिरको ठिक अगाडी २५ मिनेटको यात्रा पश्चात पन्ध्र मिटरको गुफभित्र रहेको गुप्तेश्वर महादेवको आलिंकन गर्दै रमाउन पाउनु यस स्थानको अर्को परिचय पनि हो । यस ठाउँमा लक्ष्मेश्वर महादेव मन्दिर, शक्तिबल्लवेश्वर महादेव मन्दिर, जाल्पादेवी, आल्पादेवी, आशापुरी महादेव, चुनदेवी मन्दिर, जलेश्वर महादेव, सेती देवी, काली देवी मन्दिर, महाङ्काल मन्दिर, बच्छला देवी मन्दिर र तामाङ गुम्बा जस्ता धार्मिक एवं सास्कृतिक महत्वले भरिएका स्थानहरु समेत प्रशस्त रहेका छन् ।
पहाडीश्रृखंला रहेको विभिन्न प्रकारको माटोले बनेको पहाडी भू–बनोट रहेको वडामा समथल जमिन, भिरालो जमिन डाँडा–काँडा लगायत प्राकृतिक सम्पदाको रुपमा बन जङ्गल रहेको छ । धादिङ्ग जिल्लालाई काठमाडौं उपत्यकासंग जोड्ने प्रमुखनाकाको रुपमा परिचित भिमढुङ्गा धादिङ्ग जिल्लामा उत्पादित तरकारी,फलफुल तथा दुग्ध सामाग्रीहरु यसै नाकाभएर भित्रदै आएको छ । दुबेचौर, थाप्ले, भिरकोट, भिमसेन स्थान जस्ता पर्यटकीय सम्भावना बोकेको वडामा विभिन्न देवी देवताका मन्दिरहरु पनि प्रशस्त पाईन्छ । हिन्दु र वौद्ध परम्परामा समान आस्था प्रदर्शन गर्ने यहाँका वासिन्दाहरु धार्मिक सहिष्णुतालाई मन पराउदै आएको देखिन्छ । धार्मिक आस्था सहित आ–आफ्नो चाडपर्व मनाउने, पूजा प्राथना गर्ने, धार्मिक कार्यहरु गर्ने, जात्रा–उत्सव, मेला जस्ता सामाजिक रीति–रिवाज स्वीकार्नु यहाँका बासिन्दाहरुको विशेषता हुदै आएको छ । महभारत पर्वत श्रृखलामा अवस्थित यो भेगमा समशितोष्ण हावापानी पाईन्छ । सुहाउदो प्रकारको हावापानीले गर्दा बस्ती विस्तारको कामहरु यस क्षेत्रमा बढ्दै गईरहेको छ । आम नेपाली समुदायले अङ्गाल्दै आएको कृषि नै मुख्य पेशा रहेता पनि समयानुकुल फलफूल, तरकारी, पोल्ट्री फार्मिङ, फूल खेती जस्ता व्यवसाय पनि बढ्दै गईरहेको छ । विकासका पूर्वाधारहरु मध्ये सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा समयानुकुल कामहरु प्रगति पथमा नै अगाडि बढी रहेको भिमढुङ्गामा बस्ती बिस्तारको क्रम बढ्दो छ । उपयुक्त सुविधाको खोजी गर्दै बसाई सराई गरेर राजधानी भित्रिने क्रममा यस क्षेत्रमा पनि यसको प्रभाव देख्न सकिन्छ ।
ऐतिहासिक घटनाक्रमबाट उत्पत्ति भै प्राचिन धरोहरको रुपमा रहेको भिमढुङ्गा पर्यटकिय नगरीमा रहेको भिमसेन मन्दिरलाई वि.सं २०७२ सालको भूकम्पले क्षति पु¥याएको भए पनि पुरातत्व विभागबाट मन्दिर पुन निर्माणकार्य सकिएको छ । मन्दिर वरपर रहेको जमिन भासिएको गएकाले स्थानिय स्तरबाट त्यसको संरक्षण कार्यमा आवाज उठेपछि नगरपालिकाको ध्यान तयसतर्फ पुग्न थालेको छ । विविध कारणले गर्दा मन्दिर वरपर रहेका वस्तु तथा सार्वजनिक भू–भागहरु मासिदै गएका छन् । यस मन्दिरमा नेवार सम्प्रदायको महर्जन गुठीद्धारा तथा स्थानिय नेवार समुदायले पनि मन्दिर संरक्षण तथा व्यवस्थापनमा चासो देखाएका छन् । स्थानिय तहको विकास गर्ने कामको जिम्बेवारी पाएको नागार्जुन नगरपालिकाले मन्दिरको संरक्षण, प्रबर्धन, प्रचारप्रसार तथा पर्यटकिय विकासमा दिर्घकालीन योजना बनाएर काम गर्न ध्यान पु¥याउन सकेको छैन ।
आन्तरिक रुपमा पर्या–पर्यटन विकासका लागि पनि वडा कार्यालय र स्थानिय बासीहरुले भिमसेन मन्दिरको मौलिक पहिचान जोगाई राख्न आवस्यक छ । नागार्जुन नगरपालिकाले पनि भिमढुङ्गाको पर्यटन विकासका साथै समग्र पक्षको विकासका लागि विज्ञहरुको सहभागितामा नगर स्तरिय गुरु योजना बनाई कार्यान्वयन गर्नु अति नै आवस्यक छ । यस कार्यका लागि नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन वहादुर वस्नेत र उपप्रमुख शुशिला अधिकारीले विशेष ध्यान दिन आवस्यक छ । गुरु योजना बनाउन ढिलाई गर्नु हुँदैन र यसमा कसैले पनि राजनितिकरण गर्न हुँदैन यदि यस्तो अवस्थाको सांकेत देखिएमा वागमति प्रदेश सदस्य केशव प्रसाद पोखरेरले विशेष भूमिका निर्वाह गर्नु पर्दछ किनकी उहाँ स्वयम भिमढुङ्गाकै स्थायि बासिन्दा समेत हुनुहुन्छ । यदि यस स्थानमा भएका विकासका संभावनाहरु पहिचान गर्दै अगाडी बढ्न सके नागार्जुन नगरपालिकाको सान र गौरवका रुपमा भिमढुङ्गा स्थापित हुनेमा कुनै दुविधा देखिदैन । यति भएमा मात्र पर्यटक विकासको प्रचुर संभावनाले गति लिन सक्छ र प्राचिन सम्पतिको जीवित धरोहरलाई भविष्यसम्म सुरक्षित राखी भोलिका सन्तान तथा दर्सन्तानले र भोग्न सक्छन् ।
डा. उत्तम खनालको यस विचारमा प्रतिक्रिया दिनको लागि khanaluttam24[at]yahoo.com मा इमेल पठाउन सक्नुहुन्छ।