
हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ?
किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी ।
त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो ।
निराशाको अनुभव हुनु असफलता हो । यसले हाम्रो कार्यक्षमतालाई नाश गरिदिन्छ । हामीले सर्वप्रथम आफ्नो स्थान निर्धारण गर्नुपर्छ । आफैँप्रति इमान्दार हुनपर्छ, आफैँसँग प्रतिशपर्धा गर्नुपर्छ । खुशी रहनका लागि यस्ता कुराहरुले धेरै अर्थ राख्दछन् । मानिस खुशी हुनका लागि निम्न काम गर्नुपर्छ ।
१) प्रत्येक व्यक्तिसँग र प्रत्येक अवस्थामा सकारात्मक हुनुपर्छ ।
२) खुशी रहने अठोट गर्नुपर्छ ।
३) समझदारीपूर्वक मापदण्ड तय गर्नुपर्दछ ।
४) नकारात्मक आलोचना सहने शक्ति बढाउनु पर्छ ।
५) प्रत्येक साना कुरा खुशी हुन सिक्नुपर्छ ।
६) समय संधै एकनाशको हुँदैन । आरोह अवरोह जीवनको पाटो हो ।
७) आफूलाई सँधै सिर्जनात्मक काममा लगाउनु पर्दछ ।
८) आफू भन्दा कम भाग्यशाली व्यक्तिलाई सहयोग गर्नुपर्दछ ।
९) प्रत्येक अवस्थामा पूर्णताका लागि तत्पर रहनुपर्दछ ।
१०) अवस्थालाई बसमा राख्न सिक्नुपर्दछ । चिन्तित हुनु हुँदैन ।
११) आफू र अरुलाई माया गर्नुपर्छ । कसैप्रति द्वेषको भावना राख्नुहुँदैन ।
पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ ।
यसर्थ खुशीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।
खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ ।
नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ?
वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ ।
घरकी बुहारीले परिवारलाई कसरी खुशी राख्ने ? प्रिय बुहारी बन्ने १० टिप्स
कुनै पनि नारी जब विवाह गरेर अर्को घरमा भित्रिन्छिन्, उनको हरेक कुरामाथि सबैको चासो हुन्छ । शिल स्वभावका साथै उनले सिकेको संस्कार, व्यवहार सबै कुरा नियाल्ने गरिन्छ । यस्तो अवस्थामा हरेक नारीलाई लाग्न सक्छ के म असल बुहारी बन्न सक्छु ? परिवारका सबै सदस्यलाई खुशी राख्न सक्छु ? यस प्रकारको प्रश्न उठ्नु स्वभाविक पनि हो ।
परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ । अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नव-दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ ।
परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन् । यसले परिवारमा कलह हुन्छ । तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन् ।
नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ । त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ । यद्यपी, त्यो घरको साँचो त्यही बुहारीकै हातमा आउने हो र उनैले सम्हाल्ने हो । परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनैमा भर पर्छ । यहि मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ ।
कसरी जित्ने परिवारको मन ? आउनुहोस् जानी राखौँ
१. सबैभन्दा पहिला सासु र ससुरालाई आफ्नै आमाबुवा सम्झनुपर्छ । आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्छ । देवर, नन्दलाई भाइ-बहिनीको जस्तै प्रेम गर्ने, मार्गदर्शन दिने गर्नु पर्छ । अरु सबैप्रति प्रेमपूर्वक समान व्यवहार गर्नुपर्छ ।
२. परिवारका सदस्यले के मन पराउँछ, के मन पराउँदैनन् ? ध्यान राख्नुपर्छ । उनीहरुलाई गुनासो गर्ने मौका दिनुहुन्न ।
३. तपाईंको पतिसँग घरको सबै जिम्मेवारी हुन्छ । यदि तपाईंको लागि समय निकाल्न सकेनन् भने रिसाउने वा गलत सोच्ने नगरौँ । आखिर पतिले आफ्नो सम्पूर्ण जीवन तपाईसँग बिताउने हो । पतिको समस्या, भावना, जिम्मेवारीलाई बुझ्नु पर्छ ।
४. यदि तपाई पतिसँग बाहिर घुम्न जानुभएको छ भने घरका सदस्यहरुका निम्ति केही न केही कोसेली ल्याइदिनुहोस्, यसले परिवारप्रति तपाईंको समर्पण कति छ भन्ने कुरा देखाउँछ ।
५. एउटै छानोमुनी बसेपछि कहिलेकाहीँ ठाकठुक पर्छ, मनमुटाव हुन्छ । परिवारका सदस्यहरु आपसमा रिसाउन, झगडा गर्न सक्छन् । तर, यस्तो कुरा अर्कोलाई सुनाउने नगरौँ । एउटाको कुरा अर्कोलाई सुनाउने प्रवृत्ति पनि राम्रो होइन । यसले तपाईप्रतिको विश्वास कमजोर हुन्छ ।
६. घरको चालचलन कस्तो छ, संस्कार के छ भन्ने कुरा जान्नैपर्छ । अतः परिवारको संस्कारलाई कुशलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका के हुनसक्छ ? खोज्नुहोस् ।
७. यदि तपाईं खाना बनाउन सिपालु हुनुहुन्छ भने, यही माध्यमबाट परिवारको मन जित्न सक्नुहुन्छ । उनीहरुलाई मन पर्ने खाना तयार गर्नुहोस् । त्यस्तै घरको सरसफाइ, सजावटमा पनि तपाईंको कला देखाउनुहोस् ।
८. पहिरन सजिलो र छरितो लगाउनुपर्छ । यद्यपि बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन । तपाईं पनि आफुलाई फेसेनेबल देखाउन सक्नुहुनेछ । यद्यपि त्यो भड्किलो र नसुहाउँने हुनुहुँदैन । यस्तो पहिरन लगाउनुहोस्, जसले तपाईंलाई शालिन, सुशील देखियोस् ।
९. घरलाई सुखी र खुसी राख्ने प्रयास गर्नुहोस् । आफ्नो कर्तव्य पूरा गर्नुहोस् । सही समयमा खाना पकाउने, ख्वाउने गर्नुहोस् ।
१०. सकारात्मक माहौल बनाउनुहोस् । सधैँ खुसी एवं प्रशन्न रहने प्रयास गर्नुहोस् । विनम्रतापूर्वक प्रस्तुत हुनुहोस् ।