प्राचीन समयमा एक शहरमा बिर्खे नाम गरेको एउटा युवक थियो । उसका माता-पिता स्वर्गवासी भई सकेका थिए । गरिब भएकोले उसको आफ्ना खेतहरू पनि थिएनन्, अरुको खेतमा दिनभरी साना-तिना काम गर्थ्यो र बदलामा खानलाई पीठो र चामल घर ल्याउँथ्यो । घर आएर खाना पकाऊँथ्यो, खान्थ्यो र निदाऊँथ्यो । जीवन यस्तै संघर्षपूर्ण थियो, त्यसमाथि एउटा अर्को समस्याले उसलाई पछ्यायो ।
एक दिन उसले आफुलाई चारवटा रोटी बनायो । हात-मुख धोइसकेपछि फर्केर आउँदा त्यहाँ तीन वटा रोटी मात्र बाँकी थिए । दोस्रो दिनमा पनि त्यस्तै भयो । तेस्रो दिन रोटी बनाइसके पछि उसले त्यस ठाउँतिर नजर राख्न थाल्यो । केही समय पछि उसले देख्यो कि एउटा ठूलो मूसो त्यहाँ आउँछ र रोटी उठाएर जान्छ । भोलिपल्ट बिर्खे तयार थियो, मूसो आउने बित्तिकै तुरुन्तै बिर्खेले मूसोलाई समात्यो ।
मूसाले भन्यो, ” बिर्खे दाई, मेरो भाग्यको रोटी मलाई लगेर जान दिनुहोस न ! ”
“यदि तलाई रोटी लिन दिएँ भने, मेरो पेट कसरी भरिन्छ ? म आफ्नो जीवनबाट पहिले नै कति दु:खी छु थाहा छ ? माथिबाट पर्याप्त खानेकुरा नपाए मलाई कति गार्हो हुन्छ । खोई, मेरो जीवनमा खुशी कहिले पो आऊने होला ?”
मूसाले भन्यो, “ओहो, तपाई दु:खी हुनुहुन्छ ? त्यसोभए तपाईका सबै प्रश्नहरूको उत्तर तपाईलाई मातंग्ये ऋषिले दिन सक्नु हुन्छ ।”
“को हुन यिनी मातंग्ये ऋषि भन्ने ?” बिर्खेले सोध्यो ।
मूसाले जवाफ दियो, “ उनी धेरै ज्ञानी र प्रसिद्ध ऋषि हुन । उत्तर दिशा तर्फ धेरै पहाड़ र नदिहरुलाई पार गरे पछि उहाँको आश्रम सम्म पुग्न सकिन्छ । तपाई त्यहाँ जानुहोस, उहाँले तपाईको समस्याको समाधान अवश्य गर्नेछन ।”
बिर्खेलाई मूसाको भनाई मन पर्यो र उसले ऋषिको आश्रममा जाने निर्णय गर्यो । अर्को दिन बिहानै बाटोमा खाने कुराहरुको कुटीरो तयार पारेर बिर्खे हिड्यो उत्तर दिशा तर्फ । धेरै बेर हिडी सकेपछि साँझपख उसलाई बाटोमा एउटा हवेली देखा पर्यो । बिर्खे त्यहाँ गयो र रातको लागि बास माग्यो ।
हवेलीको स्वामिनीले सोधिन, “तिमी कहाँ जाँदै छौ छोरा ?”
बिर्खे – “म मातग्ये ऋषिको आश्रम जाँदैछु, आमा ।”
स्वामिनी – “ए…! धेरै राम्रो छ बाबू । त्यसोभए तिमीले मेरो पनि एउटा प्रश्न मातंग्ये ऋषि सँग सोधेर आउनु है त ! मेरी छोरीको उमेर २० बर्ष पूगी सक्यो, उ अत्यन्तै सुन्दर छे, उसमा सबै प्रकारका गुणहरू पनि छन्, कुनै प्रकारको केही बीमारी पनि छैन तर उसले आजसम्म एउटा शब्द पनि बोलेकी छैन, ऋषिलाई सोध्नु त बाबू मेरी छोरीले कहिले बोल्न सुरू गर्ने हो ?” यति भनेर हवेली स्वामिनी रुन थालिन ।
बिर्खे –“आमा, तपाई चिन्ता नलिनुहोस्, म पक्कै तपाईंको प्रश्न उहाँसँग सोध्ने छू र उत्तर पनि ल्याएर आउने छू ।”
अर्को दिन बिहानै बिर्खे फेरी लाग्यो उत्तर दिशा तिर । बाटो धेरै लामो थियो । बाटोमा उसले ठूला ठूला हिऊँका पहाडहरू भेट्टायो । त्यति ठूला ठूला पहाडहरू देखेर उसले बुझ्न सकी रहेको थिएन कि यी पहाड़हरुलाई कसरी पार गर्ने । समय बित्दै गइरहेको थियो । वरीपरी हेर्दा उसलाई त्यहाँ एक जना तांत्रिक देखिये जो तपस्या गर्दै थिए ।
बिर्खे तांत्रिक सामु गयो र उनलाई भन्यो कि मलाई मातंग्ये ऋषिको आश्रम सम्म जानु छ, कसरी जाने होला ? बाटो त धेरै समस्याग्रस्त देखिन्छ ?
तांत्रिक – “म तिम्रो यात्रा सजिलो बनाउन सक्छु तर तिमीले त्यहाँबाट मेरो एउटा प्रश्नको उत्तर ल्याउनु पर्छ ।”
बिर्खे – “मैले कुरो बुझ्न सकिन । जब तपाईं मलाई त्यहाँ पुर्याउन सक्नुहुन्छ भने तपाईं आफैं किन जानुहुन्न ? ”
तांत्रिक- “किनकि मैले यो स्थान छोड़ें भने, मेरो मेरो तपस्या खण्डित हुन्छ ।”
बिर्खे – “ठीक छ, मलाई तपाईको प्रश्न बताउनुहोस् ।”
तांत्रिक- “ऋषिलाई सोध्नुहोला कि मेरो तपस्या कहिले सफल हुनेछ ? म कहिले ज्ञान प्राप्त गर्नेछु ?”
बिर्खे – “ठीक छ, म निश्चित रुपमा यस प्रश्नको उत्तर सोधेर तपाईलाई जवाफ ल्याईदिनेछु ।”
त्यसपछि, तांत्रिकले आफ्नो तांत्रिक विद्याले बिर्खेलाई पहाड पार गराई दिए । अब आश्रमसम्म पुग्न केवल एउटा नदी पार गर्नु बाकी थियो । यति विशाल नदी देखेर बिर्खे डरायो, केही समय पछि उसले नदीको किनारमा एउटा ठूलो कछुवा देख्यो । बिर्खेले कछुवासँग निवेदन गर्यो, “हे कछुवा भाई, कृपया मलाई आफ्नो पछाडि बसालेर यो बिशाल नदी पार गराई दिनुहुन्छ ?”
कछुवाले भन्यो, “ठीक छ तपाई मेरो पछाड़ी बस्नुहोस,म तपाईलाई नदी तराई दिन्छु ।” बिर्खे बस्यो । जब दुबै नदी पार गर्दै थिए, कछुवाले सोध्यो – “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
बिर्खे ले जवाफ दियो – “म मातंग्ये ऋषिलाई भेट्न जाँदैछु ।”
कछुवाले भन्यो – “यो त एकदम राम्रो कुरा हो, के तपाई मेरो एउटा प्रश्न उहाँसँग सोध्न सक्नुहुन्छ ?”
बिर्खे – “हुन्छ, मलाई आफ्नो प्रश्न बताउनुहोस् ।”
कछुवा – “म एक असाधारण कछुवा हुँ, जो समय आउँदा ड्र्यागन बन्न सक्छ । मलाई यस नदीमा ५०० वर्ष भई सक्यो । मैले धेरै चोटी ड्र्यागन बनने कोशिश गरें तर तर बन्न सकेन, प्रयास गर्दैछु । म कहिले ड्र्यागन बन्ने छु ? मेरो यत्ति प्रश्न सोधेर आउनुहोला है त ।”
बिर्खे – “हुन्छ, म अवश्य तपाईको यो प्रश्न सोध्ने छु र जवाफ ल्याएर आउने छु ।”
नदी पार गरेर केही दूरी पछि मातंग्ये ऋषिको आश्रम देखा पर्न थाल्यो । आश्रममा प्रवेश गरेपछि चेलाहरूले बिर्खे लाई स्वागत गरे । साँझको बेला ऋषिले बिर्खेलाई दर्शन दिए र भने – “मलाई थाहा छ तिमी म सँग केही प्रश्नहरु सोध्न आएका छौ । तर म तिम्रा तीन प्रश्नहरुको मात्र जवाफ दिनेछु । अब तिमी प्रश्न सोध्न सक्छौ ।”
बिर्खे दुविधामा पर्यो आफ्नो प्रश्न सोध्ने कि हवेली स्वामिनी, तांत्रिक र कछुवाका प्रश्नहरु सोध्ने !
ऊ आफ्नो प्रश्न सोध्न चाहन्थ्यो तर उसले सोच्यो कि समस्याको बेलामा सहयोग गर्नेहरुलाई बिर्सनु हुँदैन, उसले बिर्सनु हुँदैन कि उसले ती व्यक्तिहरुलाई उनीहरूको प्रश्न ऋषि सँग सोधेर जवाफ लिएर जाने बाचा गरेको छ ।
त्यो क्षण उसले निर्णय गर्यो कि उसले कडा परिश्रम गर्नेछ र आफ्नो जीवन परिवर्तन गर्नेछ … तर यस पटक ती व्यक्तिहरुको जीवनमा परिवर्तन आउनु आवश्यक छ ।
यो सोचेर उसले ऋषिलाई सोध्यो – “हवेलीको स्वामिनीकी छोरीले कहिले बाट बोल्न सुरु गर्ने छिन? ”
ऋषि – “विवाहित भए बित्तिकै उनी बोल्न थाल्छिन्।”
बिर्खे – “तांत्रिकले कहिले उद्धार पाउनेछन ? ”
ऋषि – “जब उसले आफ्नो तांत्रिक ज्ञान छोड्छ र अरू कसैलाई दिन्छ, तब उसले ज्ञान प्राप्त गर्नेछ ।”
बिर्खे – “त्यो कछुवा कहिले ड्र्यागन हुन्छ? ”
ऋषि – “जुन दिन उसले आफ्नो कवच हटाउँछ ऊ ड्र्यागन बन्नेछ।”
ऋषिबाट जवाफ पाएर बिर्खे धेरै खुसी भयो । भोलिपल्ट बिहान, उसले ऋषिको खुट्टा छोयो र आश्रम बाट हिड्यो । फर्किने बेला बाटोमा कछुवा भेटियो । उसले बिर्खेलाई नदी पार गरायो र आफ्नो प्रश्नको बारेमा सोध्यो । तब बिर्खेले कछुवालाई भन्यो कि भाई, यदि तपाईंले आफ्नो कवच हटाउनुभयो भने, तपाईं एक ड्र्यागन बन्नु हुनेछ । कछुवाले त्यतिबेला नै आफ्नो कवच हटायो । कवच हटाऊँदा साथ धेरै मोतीहरू झर्न थाले, कछुवाले ती सबै मोतीहरू बिर्खेलाई दियो र आफु केहि बेरमै ड्र्यागनमा परिणत भयो । ड्र्यागन भई सकेको कछुवा अब धेरै ख़ुशी थियो । उसले तुरून्त बिर्खेलाई आफु माथि बसाल्यो र उड़ेर हिउँका पहाडहरू पार गरायो ।
अलि पर पुगेपछि बिर्खेले तांत्रिकलाई भेटायो । बिर्खेले ऋषिको जवाफ तान्त्रिकलाई भन्यो कि तपाईले आफ्नो तांत्रिक ज्ञान अरु कसैलाई दिनुहुन्छ भने तपाईले ज्ञान पाउनुहुनेछ । तांत्रिकले भने, “अब म कसलाई खोज्न जाऊँ र ? यसो गर, तिमीलाई नै म मेरो तान्त्रिक विद्या दिन्छु” भन्दै तांत्रिकले आफ्नो आँखा चिम्लदै सबै ज्ञान बिर्खेलाई दिए र अर्को क्षण उनलाई ज्ञानको अनुभूति भयो ।
बिर्खे त्यहाँबाट अघि बढ्यो र तांत्रिकबाट प्राप्त ज्ञानको बलमा चाँडै हवेलीमा पुग्यो । हवेली की स्वामिनीले बिर्खेलाई सोधिन्, “ऋषि मातंग्येले मेरी छोरीको बारेमा के भने त बाबू ?”
“उहाँ जुन दिन विवाह गर्नुहुन्छ, उनी बोल्न थाल्छिन्।”, बिर्खे ले जवाफ दियो ।
हवेली की स्वामिनीले भनिन, “त्यसोभए ढिलाई किन गर्ने ? तिमीले यति राम्रो र शुभ समाचार ल्यायौ, तिमी भन्दा राम्रो केटो मेरी छोरीका लागि अरु को हुन सक्छ र ? म आफ्नी छोरीको विवाह तिमी सँग गराऊँछू ।”
दुबैको विवाह भयो । विवाह हुना साथ केटीले वास्तवमै बोल्न थालिन् । बिर्खे अब आफ्नी श्रीमती लिएर गाउँ पुग्यो । सब भन्दा पहिला उसले मूसालाई धन्यवाद दियो र आफ्नो नयाँ हवेलीमा मूसालाई पनि बस्ने विशेष ठाऊँ बनायो ।
साथीहरू, जीवनमा हरेस खाई सकेको बिर्खे सँग आज सम्पत्ति, परिवार, सामर्थ्यता सबै थियो किनभने उसले आफ्नो प्रश्नको त्याग गरेको थियो, उसले आफु भन्दा पहिला अरूको बारेमा सोचेको थियो । र यो नै जीवनमा सफल हुनको लागि सूत्र हो ।
अरुले तपाईको लागि के गरे भनेर नसोध्नुहोस, सोच्नुहोस कि तपाईले अरुको लागि के गर्नुभयो । जब तपाईं यस सेवा भावनाको साथ संसारको सेवा गर्नुहुन्छ र अरूको लागि आफ्नो इच्छाको त्याग गर्नुहुन्छ, तब परमेश्वरले तपाईंको जीवनमा पनि चमत्कार गर्नुहुनेछ र बलिदान (त्याग) को शक्तिले तपाईं सजीलै जीवनको सबै खुशी प्राप्त गर्न सक्नुहुनेछ ।