अमेरिकी राज्य फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितहरूको गन्ती एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २ सय ९९ पाइएको छ।
त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो।
७ प्रतिशत अमेरिकी जनसङ्ख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो। यससँगै अमेरिकामा यस महामारीको अवस्था थप गहिरिएको ठानिएको छ। फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा यो यतिखेर विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणले जनाएको छ। यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ। चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन्।
यो विवरणले अप्रिल महिनामा न्यूयोर्कमा देखिएका निकै खराब दैनिक वृद्धिका दरलाई छायाँमा पारिदिएको छ। पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन्। महामारी सुरु भएयता अमेरिकामा १ लाख ३४ हजारभन्दा बढी मानिसहरूको कोभिड–१९ का कारण मृत्यु भएको छ।