नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको हो। योसँगै मृतकको संख्या ३८ पुगेको छ।
गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो। सरकारले दैनिक गरिने नमूना परीक्षणको दायरा दिनदिनै कम गर्दै लगेको छ । देशभर प्रयोगशालाको संख्या बढाएर २५ पुग्दापनि नमूना परिक्षण भने सुस्त गतिमा चलिरहेकोमा जनस्वास्थ्य विज्ञहरुले चिन्ता गरेका छन् ।
आजै ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ जना पुगेका छन् । तथ्यांकलाई विश्लेषण गर्ने हो भने कुल संक्रमितमध्ये ५० दशमलव ४९ प्रतिशत निको भएका छन्।
अहिलेसम्म नेपालमा २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।