सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पुर्याइएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी सङ्क्रमितको सङ्ख्या तीन हजार ७१७ पुगेको छ ।
यहाँ स्वास्थ्य समस्या र रोगको लक्षण देखिएपछि मात्रै सङ्क्रमितलाई अस्पतालमा स्थापना गरिएका आइसोलेशन कक्षमा राखेर उपचार गरिने नीति अवलम्बन गरिँदा झण्डै ९७. ७१ प्रतिशत सङ्क्रमित क्वारेन्टाइन र घरमै बसिरहेका छन् ।
बुधबारसम्म निर्देशनालयको तथ्याङ्क हेर्दा यहाँ २.२८ प्रतिशत सङ्क्रमितको मात्रै यहाँका आइसोलेशन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी सङ्क्रमणको आशङ्कामा रहेका १५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । यता स्थानीयवासी भने सङ्क्रमितलाई आइसोलेशनमा नराखेर घर पठाउँदा समुदायमा सङ्क्रमण फैलिने भन्दै त्रासमा छन् ।
यहाँका विभिन्न जिल्लामा गरेर हालसम्म कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ सङ्क्रमणको लक्षण देखिएका र स्वास्थ्य समस्या भएकालाई मात्रै आइसोलेशनमा राखेर उपचार गरिने बताए ।
“पहिले स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिनलाई अहिले आइसोलेशनमा परिणत गर्ने कार्य धमाधम हुँदैछ,” उनले भन्नुभयो, “सबै सङ्क्रमितलाई अस्पतालमा राखेर उपचार गर्ने सम्भावना नै रहेन ।”
सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा ९ सय ८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै कञ्चनपुरमा ४ सय ४०, डडेल्धुरामा २ सय ६९, अछाममा ५ सय ८७, बैतडीमा २ सय ९७, बाजुरामा ४ सय ४४, दार्चुलामा १९ र डोटीमा ५ सय ३३ जनामा सङ्क्रमण देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा ५०/५० श्ययाको कोरोना अस्पताल केही समय अघिदेखि सञ्चालनमा ल्याएको छ । यहाँ रहेका सङ्क्रमितमध्ये अधिकांश भारतबाट फर्किएका रहेका छन् । प्रदेश सरकारले यहाँ अझै समुदायस्तरसम्म कोरोना फैलिइ नसकेको दाबी गर्दै आएको छ ।