काठमाडौँमा ट्याक्सी ड्राइभरलाइ ठग को बिल्ला भिराइदिएको छ , के आधारमा ठग बनाइयो ? कस्ले भिरायो यो ठग को बिल्ला ?
मैले तिन वर्ष दुबइमा सरकारी ट्याक्सी चलाए । बिना लगानी महिनाको एक देखि एक लाख तिस हजार सम्म चोखो पैसा घर पठाउने गरेको थिए । मैले गरेको काम मन पराएर कम्पनीले मलाई दुई पटकसम्म राम्रो रकम दिएर नै सम्मान गरेको थियो ।
मैले एक वर्षको अन्तरालमा नै राम्रो कमाई गरिसकेको थिए । तर भाग्यको खेल, एक जना बंगालीसँग मेरो झ-गडा पर्यो र यी सबै कुराबाट बञ्तित भए । कम्पनीले निकालेपछि घर जानु बाहेक मसँग अरु केहि बिकल्प नै थिएन ।
त्यस्तो राम्रो काम छाड्नुपर्दा मनमा अथाहा पीडा थियो । तर पनि अब आफ्नै देशमा गएर केहि गर्छु भन्ने सोचे र नेपाल फर्किए । नेपाल आएर पनि के गर्ने भनेर म सँग केहि आइडिया नै थिएन । एक वर्षसम्म धेरै काम गर्ने कोशिश गरे तर कतैबाट पनि सफलता हात पार्न सकिन ।
हाम्रो पुर्खौली काम पोते बनाउने भएता पनि म भने गाडी कुदाउँनमा नै रुची राख्ने गर्थे । एक वर्ष त्यतिकै बस्दा मलाई ४ लाख जति ऋण लाग्यो । दुई चार ठाउँमा गाडी चलाउने काम पनि सुरु गरे तर पनि आम्दानीले आफ्नो परिवारको जिविका चलाउँन एकदमै गाह्रो भयो ।
यस्तो तालले भएन अब मैले केहि गर्नु पर्छ भन्ने सोच बनाएर मेनपावर धाउन थाले । पहिले पनि कतारमा ३ वर्ष काम गरिसकेकोले कतार जान खासै गाह्रो भएन । लगभग डेढ महिनाको भागदौड पघि कतारको भिसा लाग्यो ।
कतार पुगिसकेपछि कम्पनीले भने जस्तो सेवा सुबिधा दिएन अब आइ हाले एक डेढ वर्ष बसेर घरको ऋण तिरेर फर्कन्छु भनेर दुख सुख काम गर्न थाले । कतार आएको एक महिना मात्र भएको थियो कतारलाई साउदी र दुबईले नाकाबन्दी लगाइदियो । नाकाबन्दीले गर्दा तिन महिनाको तलब पाएनौं र अन्त्यमा कम्पनी नै बन्द भयो । कतारमा भए पनि हाम्रो कम्पनी साउदी बाट चल्थ्यो ।
साउदीबाट आएको सामान कम्पनीले कतारको बिभिन्न ठाउँमा पठाउने गर्थ्यो । म फेरि निराश बने । जहाँबाट आएको थिए फेरि त्यही ठाउँमा पुग्नु पर्ने अवस्था आयो । म फेरि नेपाल फर्किए ।
आफ्नो देशमा केहि गरौं भन्यो ठाँउ पाउन नै गाह्रो । ठाउँ पाए लगानीले नपुग्ने । आफ्नै देशमा केइ गरौ भन्दा ठाउ भेट्नै गाह्रो । सामाजिक सञ्जाल तथा पत्रपत्रिका पढ्थे । नेताहरुले अब कोहि नेपाली बिदेशिनु पर्दैन भनेर ठूला ठूला भाषण गरेको सुन्थे । सोझो मान्छे बिश्वास गरे । घरमा सल्लाह गरे । बिदेश गएर पनि २ पटक फर्कनु पर्दाको पीडा मनमा थियो । अन्तत मैले गाडी चलाउने निर्णय गरे र काठमाडौंको ट्याक्सी ड्राइभर भए । साथीले ट्याक्सी कुदाउने काम गर्थ्यो, उसँग सल्लाह गरे र ऋणको भारी बोकेर ट्याक्सी किने ।
मैले २६ लाखमा ट्याक्सी किने । सुरुको डाउनपेमेन्ट ६ लाख तिरे र महिनाको १८ प्रतिशत व्याज तिरेर काठमाडौंको ट्याक्सी चालक बने जस्लाई अहिले ठगको बिल्ला झुन्डाइएको छ ।
ट्याक्सी चलाउन नेपालमा धेरै गाह्रो
विदेशमा सबै कुरा व्यवस्थित, राम्रो बाटो जाम पर्ने ठाउँमा त झन् ट्याक्सीका लागि भनेर छुट्टै बिशेस बाटो हुन्थ्यो । बाटो पुरै जाम परेको बेला हामि त्यहि बाटोमा सलल ट्याक्सी चलाउथ्यौं । त्यति बेला मलाई बच्चा हुँदा खेरि को राजाको सवारी याद आउथ्यो ।
सुख दुख गरेर २ वर्ष ट्याक्सी चलाए । मैले काठमाडौमा धेरै थरीका मान्छे भेटे । कतिले त धेरै नराम्रो गाली पनि गरे । थोरै राम्रा र धेरै नराम्रा मान्छे भेटे । चोकमा मान्छे कुरेर बस्दा धेरै थरीका मानिसहरु आउनु हुन्थ्यो । केहिले आफै बुझेर पारिश्रमिक दिनुहुन्थ्यो भने केहिले खातेसम्म भनेर जानुहुन्थ्यो । आफ्नै पेसा नराम्रो होला भनेर कसैलाई केहि गुनासो गरिन ।
कारखाना चोकबाट घर जादै थिए, एक जनाले हात दिनुभयो । जाडोको मौसम भएकोले हतार गरेर घर जादै थिए । मैले ट्याक्सी रोके । उहाँले जोरपाटी खरिबोट जान आग्रह गर्नुभयो । मैले म एकदम थाकेको छु अरु ट्याक्सीहरु पनि आउँदैछन् भनेर जवाफ फर्काए । उहाँले मलाई एकदमै नराम्रोसँग गाली गर्नुभयो । यो पेसा गर्दा मैले धेरै भनाइ सहेर नै हिडेको थिए । तर त्यो दिन मलाई दशा नै लागेको रहेछ । उहाँको बचन मैले सुन्न सकिन र झग-डा नै पर्यो । दिनभरीको तनाबले गर्दा दिक्क भएको मैले बचन सहन नसकेर हात हाले र प्रहरीले मलाई एकदिन थुनामा राखेर निकाल्यो । त्यो रात नै मेरो जीवनको अविस्मरणीय रात बन्यो ।
त्यो रातलाई बिर्सेर बिस्तारै सहज जीवनमा फर्कदै थिए । ट्राफिक प्रहरीले दुख दिन थाले । जति बेला पनि चिट काटेको काटै । फाइन तिरेको तिरै । कमाई भन्दा पनि जरिवाना बढी तिर्नुपर्ने दिन आउँन थाल्यो । २०६९ सालदेखि अहिलेसम्म पनि ट्याक्सीको मिटर भाडा बढाएको छैन सरकारले । ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई धमाधम कारबाही गर्न थाले । म एकैदिनमा ३ पटकसम्म कारबाहीमा परेपछि मिटरमा हिड्न बाध्य भए । मिटरमा हिड्दा तेल हाल्ने पैसा पनि नपुग्ने अवस्था आउन थाल्यो । ट्राफिक त थियो नै पछि मानिसहरुले पनि दुख दिन थाले । मनपरी बोल्न थाले । ट्वटल र पठाओ जस्ता एप आए र बिस्तारै हामी बिस्थापित हुन पुग्यौं ।
संविधानलाई आधार मान्दा रातो नम्बर प्लेटका निजी सवारी साधनले पेसेन्जर बोक्न नपाउने भनेर लेखेको छ तर खुलेआम त्यस्ता कार्यहरु गर्दा सरकार मौन बसेको छ । त्यसपछि हामी साथीभाई भेला भएर सरकारलाई ध्यानाकर्षण गराउने सोच बनायौं । उपत्यका ट्याक्सी व्यवसायी समाज भनेर समिति दर्ता गरायौं । समिति दर्ता भएपछि हामीले आफ्नो पनि कमीकमजोरी स्वीकार्नु पर्छ भनेर सल्लाह गर्यौं र त्यही अनुरुप अगाडी बढ्न थाल्यौं ।
हाम्रो मुख्य समस्या भनेकै भाडा थियो जुन २०६९ साल देखि आज को मितिसम्म बैधानिक तरिकाले समायोजन भएको छैन हामीले पटक पटक सरकारी निकायमा हाम्रो समस्या हरु राख्दा सम्म सरकारले वास्ता गरेन । झन् झन् कडा गर्न थाल्यो ।
सरकारले समस्या समाधान गर्नु को सट्टा झन् पेल्न थाल्यो । काठमाडौंमा १३ हजार ट्याक्सी चल्छन् । वर्षमा कति कर तिर्छन् तपाई आफै अनुमान गर्नुहोस । यति धेरै कर तिर्दा पनि सरकारले हामीलाई अर्कै दर्जाको व्यवहार गर्छ । हाम्रो मुख्य समस्या भनेको नै भाडा थियो । २०६९ सालदेखि नै बैधानिक तवरले समायोजन गरेको छैन । एक वर्षसम्म संघर्ष गर्यौं सरकारले सुनिदिएन । त्यस्पछि घर परिवार चलाउन नै गाह्रो हुन थाल्यो । ट्याक्सीको किस्ता नै तिर्न नसक्ने अवस्था आयो । टुटलले यति लिन्छ हामीलाई ठग्ने भनेर गाली गर्न थाले । बाईक र ट्याक्सीबीचमा रहेको फरक देख्दैन्न मानिसहरु र हामीलाई गाली गर्छन् ।