प्रत्येक मानिसलाई मृत्युबाट बचाउने प्रयास गर्ने एक कुशल चिकित्सकको सेतो कोट माथि बारम्बार नैतिकताको प्रश्न उठिरहन्छन । उसको साहस, उसको आँट र उसको प्रयास को विभिन्न माध्यम बाट धज्जी उडाईन्छ । बिना प्रमाण उसलाई हत्यरा भनि उपनाम दिईन्छ । मानिसको हुल मिलेर हस्पिटलको चारै तिर एकैछिनमा हुलदङ्गा गर्छन् । कोहि भन्छ्न लुटेरा कति पैसाको लागी यो सब गरिस ? कोहि भन्छ्न,के तेरो लापरबाही खेप्नकै लागी हामी यहाँ आएको ? अन्य विभिन्न गाली गर्छन् । कुरा गालिमा मात्र सिमित नरहेर जथाभावी बोल्ने अनि आक्रोशमा आएर हात हाल्ने सम्म पुग्छ ।
उसले वर्षौंवर्ष लगाएर कमाएको सेतो एप्रोनको ईज्जत निमोठिन्छ । उसले उपचार गराईरहेका अन्य बिरामीहरुका मनमा पनि डरको बीउ रोपिदिन्छ, हाम्रो समाज । ऊ गलत छ या निर्दोष ? त्यो त अदालतको फैसलाले बताईहाल्छ नि तर उसले भोगेको मानसिक तनावको जिम्मेवारी कसले बहन गर्छ? फैसला पछि उसको उपचार माथी उठेको प्रश्नले उत्तर त पाउला तर समाजले मृत्युवरण गराएको उसको आँट, उसको साहस, उसको प्रयासको भरपाई कसले गर्ने ?
आखिर अरुको ज्यान किन लिन्छन् र डाक्टरहरु ? जसलाई ज्यान बचाउने भगवान भनेर सम्बोधन गरिन्छ । यो कदापि सम्भब नै छैन ।
आजको समयमा स्वास्थ्य पनि पेसा बनेको छ । सो पेसाको छुट्टै आफ्नो नैतिक आधार रहेको हुन्छ । जसमा आफ्नो कडा मिहेनतका साथ बिरामीलाई निको बनाउने प्रयास गर्नु, आफुले जानेको ज्ञानले हरेक बिरामीलाई सही मार्ग देखाउनु, यस्ता केही उनिहरुको आचार संहिता अन्तर्गत पर्दछ । अत: उनिहरु बिरामी आफैले आफ्नो ज्यान त्याग्न चाहे पनि मेडिकल नैतिक्ताको बिरोध भएकोले सो कुरा जायज ठन्दैनन् अनि हामी पटक पटक यसरी ज्यानमारा को उपनामले पुकार्छौ । सो कुरामा हामी जनमानस नै गलत त छैनौ ? हो, यस विषयमा पनि गहन गर्नु आवश्यक रहेको छ ।
डाक्टरहरु माथी दिन प्रतिदिन अत्याचार बढीरहेको छ । हालै मात्र यो कोरोनाको माहामारीमा, जेठ १४ म NMC को डाक्टरहरु माथी हात उठएको घटनाको बारे त हामी जानकार नै छौ । अनि फेरी जेठ १८ गते डोटीको दानकोट स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी घाइते हुने गरी स्थानीयद्वारा कुटिएका थिए ।डोटी घटनाको दुई दिन बित्न नपाउँदै रौतहटमा पनि क्वारेन्टाइनमा ड्युटीमा रहेको एक स्वास्थ्यकर्मी माथि क्वारेन्टाइनमै रहेका व्यक्तिहरुबाट आक्रमण भएको थियो। आखिर कहिले सम्म भोग्ने डाक्टरहरुले यस्तो अत्याचार ?
डाक्टरहरुले प्रतिज्ञा नै लिएका हुन्छन् कि सेवाग्राहीलाई सेवा दिने भनेर.. यस्तो अठोट लिदा लिँदै पनि यदि केही कारण डाक्टरले गल्ती गरेमा कानुनी रुपमा सजाए दिन उचित हुन्छ । कानुन भन्दा माथी उठेर डाक्टर मात्र त के कसैलाई पनि हात हाल्नको लागि कानूनले छुट दिएको छैन । नेपालको कानुन अन्तर्गत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ मा इलाजस सम्बन्धी कसुर भई सो अन्तर्गत दफा २३० देखी दफा २४० सम्म स्वास्थ्यकर्मी द्वारा गरिएको अपराध र सो अपराधको सजायको बारेमा विस्तृत रुपमा उल्लेख गरेको पाइन्छ ।
सो दफाहरुमा स्वास्थ्यकर्मिको गल्तिले मनिसको ज्यान गएको सम्बन्धित निकायमा पुष्टी भएमा ज्यान मा’रेको सरह सजाँय हुनेछ, जसको निम्ती जन्मकैदको सजाय अर्थात २५ वर्षसम्म कै द रहेको छ । अथवा यदि स्वास्थ्यकर्मिको हेल्चेक्र्याइको कारण अङ्गभङ्ग भएमा सोही बमोजिम कार्वाही हुने प्रावधान रहेको छ । यस सँगसङ्गै अन्य विभिद प्रावधान रहेको छ । यिनै सारा प्रावधान हुँदा हुँदै यसरी आवेशमा आएर उनिहरु माथी हात हाल्नु आफैमा एक गलत कार्य रहेको ले कानुन को पालनाको साथ कानुनी मध्यममा जानु आवश्यक छ ।
आज पुरै बिश्व कोरोनाले त्रसित छ, यस्तो समयमा पनि डाक्टरहरुले आफ्नो ज्यानको केही मतलब नगरी पूरा समयनै सेवाग्राहीको नाममा समर्पण गरिदिएका छन् । यस्तो समयमा त झन अरु समय भन्दा अझै बढी सम्मान गर्नु पर्ने र उनिहरुको मनोबल बढाउनु पर्ने समयमा यसरी बेला–बेलामा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थकर्मी माथि हुने दुव्र्यवहार अन्त्य हुन जरुरी छ ।
सरकारी र निजी दुवै निकायबाट उपचार गराउन बसेका सबै स्वास्थयकर्मिहरुलाई सम्मानजनक व्यवहार गर्ने र गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्ने वातावरण मिलाउने जिम्मेवारी हामी सबैको हो । आफ्नो जिम्मेवारी प्रती उत्तरदायी रहौ । स्वास्थकर्मी र सेवाग्राही दुवै आफ्नो कर्तव्य प्रति जिम्मेवार भए भने मात्र स्वास्थ्यकर्मीले गुणस्तरीय सेवा प्रदान गर्न र सेवाग्राहीले गुणस्तरीय सेवा लिने वातावरण बन्न सक्दछ । अनि मात्र स्वास्थ्य क्षेत्र एक शान्ति र सेवादायक क्षेत्रको रुपमा विकास हुन सक्दछ ।
कानुन भन्दा माथी कोहि पनि हुँदैन, न तपाईं न म ! जो कोहिले, कानुनको जिम्मेवारी आफ्नो हातमा लिएर जथाभावी नबोलौं । कुनैपनि चिकित्सक माथी जथाभावी शब्द प्रहार नगरौं । अस्पताल को हरेक घटनामा डाक्टरको मात्र हात हुँदैन, त्यसैले अस्पतालमा घट्ने सबै घटनाहरुको सत्यतथ्य के हो छानबिन गरी दोषीलाई कारबाही गर्नु आवश्यक हुन्छ ताकी आमजनमानसले निर्धक भएर स्वाथ्यक्षेत्र र स्वास्थयकर्मी माथी विश्वास गर्न सक्छ । जानेर वा नजानेर गल्ती हुन सक्छ । कहिले कही स्वास्थ्यकर्मीहरु बाट पनि गल्ती हुन सक्छ । सो गल्तिलाई सजाय दिने वा सो गल्ती सुधार्ने निश्चित निकायको व्यवस्था रहेको छ । नेपाल मेडिकल एशोसिएसन, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल मेडिकल काउन्सिल जस्ता अन्य विभिन्न संस्था केही उदाहरण हुन्, जो उक्त विषयहरुमा जिम्मेवार हुन्छन । त्यसैले निश्चित निकायमा गएर जनकारी गरौ र एक जिम्मेवार नगरिक बनौं ।