चीनले भारतसँगको सीमा विवाद समाधानका लागि दुवै देशका कूटनीतिक र सैनिकहरु घनिष्ट संवादमा रहेको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सीमा क्षेत्रमा भारतसँग थप संघर्ष नचाहेको बताएका छन् ।
उनले भने, ‘दुवै मुलुकबीच वर्तमान समस्यालाई समाधान गर्नका लागि कूटनीतिक र सैन्य संयन्त्रमार्फत् संवाद भइरहेको छ ।’
उनले गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा चीन जिम्मवार नभएको बताएका छन् ।
उनले भने, ‘गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र भएको छ । यसका लागि चीनलाई जिम्मावार मान्न सकिँदैन ।’
गलवान भ्यालीको सम्प्रभुता सधैं चीनसँग रहने समेत प्रवक्ता लिजियानले बताएका छन् । उनले भने, ‘भारतीय सैनिकले बोर्डर पोर्टोकल र दुवै मुलुकको कमान्डरस्तरको संवादमा भएको सहमतिको समेत उल्लंघन गरेका छन् ।’
उनले थपे, ‘उक्त झडपमा सही र गलत बारे सबै प्रस्ट छ । त्यो घटना चिनियाँ क्षेत्रमा रहेको लाइन अफ एकच्युल कन्ट्रोलमा भएको हो । त्यसमा चीनलाई आरोप लगाउन पाइदैन ।’
उनले भारतलाई आफ्नो सेनालाई सीमा क्षेत्रमा निर्धारित क्षेत्रमा राख्न आग्रह समेत गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार भारतीय सेना गालवन क्षेत्रको चिनियाँ भूमिमा प्रवेश गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।
सोमबार राति गलवान भ्यालीमा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ । चीनतर्फ ४० भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसबारे चीनले केही पनि बोलेको छैन् ।
विवादको पृष्ठभूमि
यो टकराव उत्पन्न हुनुका धेरै कारण छन्। तर प्रतिस्पर्धी रणनीतिक उद्देश्य यसको जड हो।
भारत र चीनबीच ३,४४० किलोमिटर लामो सीमा छ र विभिन्न स्थानका भूभागलाई लिएर आ-आफ्नै दाबी छ।
सन् १९५० देखि नै चीनले ब्रिटिश औपनिवेशिक कालमा तय गरिएको सीमालाई मान्यता दिन अस्वीकार गर्दै आएको छ ।
फलस्वरूप सन् १९६२ मा दुई देशबीच यु द्ध भयो जसमा भारत नराम्ररी पराजित भयो।
आ-आफ्नै दाबी
त्यो युद्धपछि भारत र चीन दुवैले आफ्नो भूमि मिचिएको आरोप लगाउँदै आएका छन्।
भारतका अनुसार चीनले उसको ३८,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ जुन हालको तनाव देखिएको क्षेत्रमा पर्छ।
सन् १९६२ मा भारत र चीनबीच यु-द्ध भएको थियो
चीनले भने अरुणाचल प्रदेशमाथि दाबी गर्दै आएको छ।
चीनले उक्त क्षेत्रलाई दक्षिण तिब्बत भन्ने गरेको छ।
त्यसबाहेक पनि अन्य विभिन्न क्षेत्रमा सीमाबारे दुई देशका आ-आफ्नै दाबी छन्।
लद्दाखमा राम्रोसँग सीमाङ्कन नगरिएको लाइन अफ एक्चुअल कन्ट्रोलमा धेरै नदी, ताल र हिमपर्वत छन् जसको अर्थ दुई देशका सेना तैनाथ गरिएको क्षेत्र आफैँ सर्न सक्छ र उनीहरू टकरावको स्थितिमा पुग्छन्।
पछिल्लो तीन दशकमा गरिएका कैयौँ वार्ताहरू सीमा विवाद सुल्झाउन असमर्थ रहेका छन्। तर ती वार्ताले उक्त क्षेत्रलाई स्थिर राख्न भने सहयोग गरेका थिए।