
काठमाडौ । लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भारत र चीनका सेनाबिच भएको भिडन्तमा ज्यान गुमाउनेमा भारतीय सेनाको गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत कोही पनि नेपाली नरहेको आधिकारिक स्रोतले जानकारी दिएको छ ।
सोमबार राति भएको सो भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरु १६–बिहार रेजिमेन्टका सैनिक रहेको जनाइएको छ ।
नेपालीहरु भारतीय सेनामा कार्यरत रहे पनि सोमबार राति भएको भिडन्तमा गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत नेपालीहरु नरहेको जनाइएको हो ।
भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो ।
सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारी (कमाण्डर) सहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो ।
चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृ-त्यु भएको हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराएको छैन।
यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ।
चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ।
लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चल्दै आएको छ।
यसअगाडी जेठ ११ गते पनि भारतीय सेनालाई चिनिया सेनाले नियन्त्रणमा लिएको थियो ।