
यूएई – यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको छ ।
सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएता पनि फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।
समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् ।
जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् ।
यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन ।
यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिएका छन् ।
जहाज साँझ ५ बजेर ४० मिनेटमा त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नेछ ।
यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए ।
सुरुवातमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो ।
नेपालीलाई एक पटक जहाजमा राखेर फेरि ओरालिएको थियो ।
त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो ।
अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।
उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन ।
साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।
विदेशमा अति नै दुःख पाएका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार उनीहरुलाई स्वदेश ल्याउन लागिएको हो ।