
रोल्पा, १९ बैसाख । रोल्पामा युद्धकालीन बम विष्फोट हुँदा ज्यान गुमाएका चार बालिकाको शव घटना भएको १८ घण्टा बितिसक्दा समेत उठ्न सकेको छैन ।
बम विफोट भएर ज्यान गुमाएका बालबालिकाकै छेउमा अर्को विष्फोट नभएको बम भेटिएको र त्यो सुरक्षित रुपमा डिस्पोट नगरी मृत्तक बालबालिकाको शव उठाउन समस्या भएको रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले जानकारी दिएका छन् । प्रहरीले घटनास्थल शिल गरिसकेको छ ।
हिजाे (बिहीबार) बाख्रा चराउन गएका एकै घरका दुई जनासहित चार बालबालिकाको कम विष्फोटमा परी ज्याज गएको हो । बम विष्फोटमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री, छिमेकी १३ वर्षीय गौरब नेपाली र १४ वर्षीय नोखीराम डाँगीको ज्यान गएको थियो ।
उनीहरु दिनभर बाख्रा चराएर घर फर्कदै थिए । फर्कदै गर्दा उनीहरुले बाटोमा बम भेटे । तर, अबोध बालबालिकाले त्यसलाई खैनौला ठाने । एक्कासी विष्फोट भयो । विष्फोटको आवाज यति ठूलो थियो, टाढासम्म स्थानीयले सुने ।
त्रसित स्थानीयहरु कहाँ के भयो भन्दै खोज्दै जादाँ गहुँबारीमा चार जना बालबालिका मृत्त फेला पारेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिएका छन् । जनप्रतिनिधि र प्रहरी पुग्दा नजिकै अर्को बम पनि फेला भेटिएपछि तत्काल शव उठाउन समस्इा परेको हो ।
घटनास्थल नजिकै अर्को बम पनि फेला परेपछि मृतक बालबालिकाको शव अहिलेसम्म घटनास्थलमै छ ।
विष्फोट नभएको बम डिस्पोट गर्नका लागि नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन नसकिएको रोल्पाका प्रहरी नायब उपरीक्षक गुरुङले बताएका छन् ।
माओवादी सशस्त्र युद्धका क्रममा घटना भएको रोल्पाको दुम्ला जंगलमा भिडन्त समेत भएको थियो । त्यही समयको बेवारिसे अवस्थामा फेला परेको बम गोठाला गएका अवोध बालबालिकाले खेलाउने क्रममा विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । ठूलो आवाजसहित विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ को रहेको प्रहरीको भनाइ छ ।
यतिबेला सिङ्गो गाउँ शोकमा डुबेको छ । डिसपी चित्रबहादुर गुरुङले सेनाले अर्को बम डिस्पोज गरेपछि शव उठाउने बताएका छन् ।
मृतक बालबालिकाका परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिस
प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विष्फोटमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले विष्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गर्ने पनि बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरेका छन् ।
यसैबीच बम विष्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी घटनास्थल गएका छन् ।