प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई कुटपिट गरेको थुप्रै घटनाहरू बाहिरिएका छन्। बुधबार रौटहटको गौरमा पनि त्यस्तै किसिमको घटना भएको छ।
प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा निर्मम तरिकाले कुटपिट गरेको भिडिओ भाइरल भएको छ। त्यहाँ तीन-चार जना प्रहरीले एक जनालाई कुटपिट गरेको देखिएको छ।
उक्त भिडिओमा एक प्रहरी हवल्दार पनि ढलेका छन्।
प्रहरीका अनुसार गस्ती गएको बेला लकडाउन उल्लंघन गर्नेहरू आक्रमक भएपछि त्यस्तो अवस्था आएको हो। सो क्रममा एक प्रहरी हवल्दार घाइते समेत भएका थिए।
प्रत्यक्षदर्शी सन्दीप सिंह अनुसार यत्तिकै बाहिर निस्केकालाई प्रहरीले कुटपिट गर्दै पक्राउ गरी लगेको बताएका छन्।
प्रहरीले भने सम्झाउने क्रममा उल्टै प्रहरीमाथि जाइ लागेपछि उनीहरूलाई पक्राउ गरिएको बताएको छ।
‘बाटोमा गस्ती गएको बेला आठ-नौं जना फेला पारे र सम्झाउने क्रममा उनिहरूले प्रहरीमाथि जाइलागे,’ रौटहटका एसपी रविराज खड्काले भने,’उनीहरूले ढुङ्गामुढा गर्दा एक जना हवल्दार पनि घाइते भएका थिए।’
उक्त घटनापछि प्रहरीले चार जनालाई नियन्त्रणमा समेत लिएको छ।
‘प्रहरी हवल्दारको अण्डकोषमा ढुङ्गाले लागेपछि ती बेहोस भएका थिए र अहिले पनि जिल्ला अस्पतालमा उपचाररत छन्,’ उनले भने,’अस्पताल भर्ना भएपछि पनि उनि २-३ घण्टा पछि मात्रै होसमा आएका थिए।’
ती हवल्दारको तिघ्रामा पनि चोट लागेको एसपी खड्काले बताए।
‘आफ्नो साथीलाई त्यसरी ढल्ने गरी हानेपछि अरूले दुईचार लाठी त हान्ने नै भयो,’उनले भने।
पक्राउ पर्नेहरू राजु यादव, राहुल यादव, कुनाल यादव र मुनाल यादव रहेका छन्