
नेपाल मात्रै होइन विश्व नै कोरोना भाइरस(कोविड–१९) विरुद्ध लडिरहेको छ। नेपालमा पहिलो चरणमा सात दिने लकडाउन सकिएर दोस्रो चरणमा चैत २५ सम्मका लागि थप गरिएको छ। यो समयमा सरकारले कसरी काम गरिरहेको छ? स्वास्थ्य मन्त्रालयले के-के तयारी गर्दैछ ? सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीका विषयमा प्रश्न किन उठ्यो ? स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग यस्तै यावत प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् सूत्रकर्मी सञ्जिव रेग्मीले। प्रस्तुत छ मन्त्री ढकालसँग रेग्मीले गरेको कुराकानीको सम्पादित अंशः
कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि सरकारले के गरिहरहेको छ ?
-चीनबाट ल्याएका सामानहरु पहिलो चरणमा सातै प्रदेशमा पुर्याउने काममा भयो। प्रदेश १ र सुदूरपश्चिममा हवाई मार्गबाट अरु प्रदेशमा स्थलमार्गबाट सामान पुर्यायाैं।
अहिले आएको सामान प्रयाप्त छ त ?
-हामीले जति सामान ल्यायौं यो प्रयाप्त छैन। पहिलो चरणमा सामान नभएका कारण कामै गर्न नसकिने अवस्था आएकोले यो क्षेत्रमा काम गर्ने, चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामान ल्याइयो। काठमाडौंमा मात्रै केन्द्रीत नमूना परीक्षणलाई सातै प्रदेशमा बिस्तार गर्ने तयारी गरियो।
हामीलाई चाहिने अति महत्वपूर्ण सामग्री मध्ये एक तिहाइ सामग्री आएको छ।
यसले एउटा कहाली लाग्दो स्थितिलाई निदान गरेको छ अर्को २ तारिखमा आउँदैछ र पाँच तारिखभित्र हामीले सम्झौता गरेका सबै सामानहरु आइपुग्छन्। यो बीचमा निजी क्षेको पहलमा पनि अरु सामानहरु आउँदैछ भन्ने सुनिएको छ।
सबै सामान आयो भने हाम्रो परीक्षण क्षमता कति हुन्छ ?
-अहिलेसम्म कोरोना पोजेटिभ पाँच वटा केश मात्रै देखिएको छ। त्यसमा पनि विदेशबाट आएकामा मात्रै यो केश देखियो। संक्रमण नफैलियोस भनेर क्वारेन्टाइनलाई जारी राखेका छौं र त्यसलाई बल पुगोस भनेर लकडाउन पनि गर्यौं।
सात दिन सकियो। यो सात दिनमा बाहिरबाट कोही आउनु भएको छैन। अबको सात दिनमा थप फैलिन दिएनौं भने प्रयाप्त मात्रै होइन भविष्यमा समेत काम दिने खालका हुनसक्छन्।
अहिले सरकारले गरेका हरेक निर्णयको जनताले समर्थन गरेका छन्। लकडाउन लगायतका निर्णय पनि अलिक ढिलो गरी भयो। अझैं यसपछि सरकारले केही फतलो खालको निर्णय पो गर्छ कि भन्ने आम चासो छ। यसमा के भन्नुहुन्छ?
-यो रोगबाट जोगिन सरकारको आह्वानलाई प्रतिकुलताकाबीच पनि जनतालाले जुन साथ दिनु भएको यसको लागि सरकार र स्वाथ्य मन्त्रालयको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु।
अफ्ठ्यारो बेला हामी सबै मिलेर नै विजय प्राप्त गर्ने हो। महामारीले कसैलाई छोड्दैन। अरु लडाइभन्दा यो जोखिमयुक्त लडाइ हो।
शक्तिसम्पन्न देशलाई पनि आक्रान्त बनाएको छ। त्यसबाट पनि शिक्षा लिएर हामी एकजुट भएर लाग्नुपर्छ। महामारीलाई आउनै नदिन एक भएर लाग्नुपर्छ। यो अर्थमा सबैले सहयोग गर्नुभएको छ।
२५ गतेसम्म लकडाउन नै भइहाल्यो। त्यो बेला स्थिति कस्तो हुन्छ। छिमेकी देशहरुको हालत के हुन्छ। विश्व महामारीमा के हुन्छ। त्यसबाट समेत शिक्षा लिएर हामीले काम गर्ने हो।
त्यसपछिको स्थिति खतरातिर गयो भने सबैसँग समन्वय गरेर अर्को व्यवस्था पनि हुनसक्छ। त्योे तयारी भैसकेको छ। यसको प्रभाव बिस्तार हुन नदिन हामीले कुनै कसुर बाँकी राख्दैनौं।
सामान खरिदका विषयमा पनि केही प्रश्न उठे। त्यसलाई मध्यनजर गर्दै अब सरकार कसरी अघि बढ्छ ?
-अहिले गरेका काम हामीले विधिपूर्वक गरेका छौं। कानुनसम्वत गरेका छौं। हामीले ल्याएका सामानहरु उच्च स्तरका छन्। गुणस्तरीय छन्। त्यसमा पनि कसैलाई शंका लागेमा गुणस्तर नाप्न र जाँच्न सकिन्छ। त्यसका लागि हामी ओपन नै छौं।
महँगो सस्तोका विषयमा मन्त्रीले बोल्नुभन्दा पनि सम्झौता गर्ने पक्षहरु नै मुख्य कुरा हो। तर यति भन्न सक्छु र जिम्मा पनि लिन सक्छु। हिजो जुन सामान जुन मुल्यमा पाइएको थियो तर आज विश्व बजारमा माग बढेपछि त्यही रकममा पाइन्छ कि पाइदैन भन्ने कुरा हो। त्यो नपाइन सक्छ।
हाम्रै ठाउँमा पनि माग बढेपछि आज र भोलिको मुल्य फरक हुन्छ। त्यसलाई सापेक्षतामा नै हेर्नुपर्छ। काम गर्ने बेला प्रेरित गर्नुभन्दा पनि अन्य विषयमा लान खोज्ने पक्षसँग मेरो कुनै टिप्पणी छैन।
तर यी सबै चीजहरु जनताको स्वास्थ्यमा खेलवाड गर्नु हुँदैन भनेर ल्याइएका छन्। आजमात्रै होइन भोलि पनि जनताका सामू उभिएर प्रष्ट पार्नुपर्छ। प्रष्ट पार्ने कुरामा हामी तयार नै छौं। आएका सामानको गुणस्तरका विषयमा कुनै अन्यौलतामा पर्न जरुरी छैन।
सरकारले समन्वय गरिदेओस भन्ने विभिन्न संघसंस्थाको भनाइ छ। सरकारले समन्वय गरेन भन्ने पनि आरोप छ। यसमा के भन्नुहुन्छ ?
-यस विषयमा हामीले संसदमा समेत छलफल गर्यौं। सर्वदलीय बैठक पनि गर्यौं। उहाँहरुले पनि सुझाव दिनु भयो। त्यसपछि विभिन्न कमिटि बनाएका छौं। त्यसमा सबैलाई समेटेका छौं।
बुझ्नेहरुले यसलाई सकारात्मक रुपमा पनि बुझ्नु भएको छ। तर मान्छेका नजर कस्ता छन् भन्ने पनि कुरा हुन्छ। फूलको आँखामा फूलै संसार भन्या जस्तो हो। सबैले साथ दिनु भएको छ। हाम्रो कसैप्रति आग्रह पूर्वाग्रह छैन।
सबै मिलेर काम गरिरहको बेला छिर्के हान्ने, षणयन्त्र गर्ने वा मनोबल घटाउने कामले व्यक्तिगत रुपमा मलाई केही अफ्ठ्यारो पार्दैन।
कि मिडयासँग भाग्ने या त बढी भेला नगर भनेर सरकारले नै भन्या बेला पत्रकारहरुको भेला गर्ने भनेर पनि तपाइमाथि टिप्पणी भयो। यसलाई कसरी प्रष्ट पार्नुहुन्छ ?
-व्यक्तिगत हिसाबमा समाजमा दुई खालका मान्छे छन्। एउटा कामै नगर्ने वा थोरै काम गरेर पनि धेरै गरेको अभिनय गरेर जीवन गुजारा गर्ने। अर्को काम धेरै गर्ने, कामप्रति नै विश्वास गर्ने। काम गरे भैहाल्छ नि भन्ने प्रचारबाजीमा नलाग्ने।
म दोस्रो प्रवृतिमा विस्वास राखेर काम गर्ने व्यक्ति हुँ। म कामप्रति नै समर्पित भएर लाग्छु। कुरा भएको ठाउँमा प्रयाप्त नै गरेको हुँ। मेरो कार्यशैलीले कसैलाई सहजता भएन भने त्योप्रति म क्षमा चाहन्छु।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
म जनतालाई निश्चिन्त रहन आग्रह गर्दछु। सरकारले बनाएको अनुशासनको दायराभित्र बसेर यो कष्टबाट राष्ट्रलाई मुक्ति दिलाउने अभियानमा साथ दिनका निम्ति म अपिल गर्न चाहन्छु।
सामान्य ज्वरो आउने बित्तिकै कोरोना नै हो भन्ने भय समाजमा छ। त्यसबाट मुक्त हुन पनि आग्रह गर्छु। कुनै पनि असहज र अफ्ठ्यारो स्थिति आउँदा सरकार छ भन्ने कुराको अनुभूति हुने गरी तपाइहरुको स्वास्थ्यको जिम्मा राज्यले लिन्छ। यसमा आस्वस्थ हुन पनि आग्रह गर्छु।
मन्त्री ढकालसँग गरिएको पूरा कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला।