बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । महासप्तमीका दिन सुरु भएको जात्रा महाष्टमीमा राँगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ ।
जात्रामा करिब साढे ३ सय राँगाको बलि दिइएको छ । २४६ राँगा समितिमा दर्ता गरिएको र सय बढी राँगा थप आएको हुनसक्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ ।
यसै गरी घटस्थापनादेखि अष्टमीसम्म १ हजार ५ सय बढी बोकाको बलि दिइएको छ । गत वर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोना महामारीको प्रकोप कम भएकाले धूमधामसँग लागेको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथ चन्द नगरपालिका-२ को कार्यालय देहीमाडौंले जात्रा स्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जात्रालाई मर्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयको निर्णयको कसैले उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही हुने बताइएको छ ।
यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्याउने काम कसैले गरेमा कारबाही हुने बताएको छ ।