धनगढीको नवजीवन अस्पताल सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त भएको छ ।
डोटीको शिखर नगरपालिका स्थायी घर भएर हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीय कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् ।
शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले केटिएम दैनिकलाई बताए ।
एसपी अधिकारीका अनुसार मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् ।पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको बताउँदै एसपी अधिकारीले अहिले दुवै पक्षबीच छलफल भइरहेको जानकारी दिए ।
मल्ल शनिबार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् । सुत्केरी भइसकेपछि अवस्था जटिल बन्दा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा कल्पनाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।