धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलस्थित गरिमा मोबाइल ग्यालरीका सञ्चालक दिनेश नेपालीले कम्प्युटरमा काम गरिरहेका बेला झ्याप्प बत्ती गयो । केही छिनपछि बत्ती आउँदा खुलेन । पछि चेक गर्दा थाहा भयो, कम्प्युटरको आइसी उडेको रहेछ ।
पछि कम्प्युटरमा आइसी हालेर फेरि चलाए । उनलाई अझै डर छ, कम बढी लोड भएर जाने÷आउने विद्युतले कुन दिन के सामान बिगार्छ भन्ने । कम्प्युटरमा काम गरिरहेका बेला छिनछिनमा जाने विद्युतले कम्प्युटर लगायका इलेकट्रोनिक्स सामग्रीमा निकै असर परिरहेको उनको गुनासो । इलेकट्रोनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूको यो साझा समस्या हो ।
यस्तै, विद्यार्थी वर्ग पनि दिनमा १०÷१५ पटक भन्दा बढी छिनछिनमा जाने विद्युत् लाइनबाट वाक्क दिक्क बनेका छन् । गर्मी सिजन त्यसैमाथि बेला बेलामा जाने विद्युतले अध्ययन गर्न समस्या भइरहेको छ । विद्युत् नभएपछि राति किताब पढ्न सम्भव पनि भएन ।
‘दिउँसो स्कुल भइहाल्छ, राति किताब पढ्नुपर्छ,’ धनगढी १ का रोजन सुनाम भन्छन्, ‘बेला बेलामा जाने विद्युतले पढ्ने मन पनि हराएर जान्छ । कहिलेकाहीँ होमवर्क नै नगरेर सुतिन्छ ।’
यस्तै, उद्योग, कलकारखानालगायत पनि अनियमित विद्युत् लाइनबाट आजित बनेका छन् । पछिल्लो केही दिन यता विद्युत् अनियमित बन्दै गइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण धनगढीका कार्यालय प्रमुख सुरेन्द्रकुमार चौधरीले हावाहुरी गर्दा रुखहरू ढल्दा तार टुट्ने, पोल ढल्ने, ट्रान्समिटर बिग्रिने लगायतका कारण बत्ती जाने गरेको बताए ।
उनले पहिले जस्तो लोडसेडिङ नभएको बताए । ‘कहिलेकाहीँ सडक छेउछाउका रुखहरूका हाँगा तारमा लाग्ने गरेकाले हाँगा काट्नुपर्ने हुन्छ त्यति बेला लाइन काट्छौँ ।,’ उनले भने, ‘यसरी जाने बत्तीलाई लोड सेडिङनै भन्न मिल्दैन ।’