मङ्गलबार (भदौ कृष्ण प्रतिपदा) बाट सोह्रश्राद्व सुरु हुँदै छ । बडादसैँको समीपमा पितृकार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गरिने यो पितृकार्य अति पवित्र मानिन्छ ।
पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले घाटमा कोषअन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृकार्य गर्न अनुमति दिइएको बताए ।
उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिइएको बताएका छन्। प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।
श्राद्धमा के के गरिन्छ ?
आफ्नो आमाबुवाको श्राद्धको दिन आएपछि अघिल्लो दिन एक छाक मात्र भोजन गरी दारी कपाल काटी शुद्ध भई श्राद्धको तयारी गरिन्छ जसलाई एकछाकी पनि भन्ने गरिन्छ ।
श्राद्धको दिन गाउँघरका आफ्ना दाजुभाइ इस्टमित्र, गुरु र गरिबहरुलाई पनि श्राद्धको प्रसाद खान बोलाइन्छ । जाने आफै गर्न पनि सकिन्छ आफूलाई आउँदैन भने गुरु पुरोहितलाई घरमा बोलाई वैदिक विधिअनुसार श्राद्ध गरिन्छ । श्राद्ध सकिसकेपछि दालभात, तरकारी, अचार, खीर, मिठाइ, दही घ्यूसहितको परिकार सबैलाई खुवाइन्छ र खाईन्छ ।
श्राद्धमा के के गर्नु हुँदैन ?
शास्त्रका अनुसार श्राद्धको समयमा घरमा तामसी भोजन (माछामासु, लसुन, प्याज़, मदिरा र असन मानिने खाना) बनाउन पनि अशुभ मानिन्छ । यो समयमा मसुराको दाल, राजमा, धतुरो लगायतका बस्तुहरुको प्रयोग पनि बर्जित मानिन्छ ।
श्राद्धको दिन शरीरमा नुन, तेल आदि प्रयोग गर्नु पनि अशुभ मानिन्छ । श्राद्धको समयमा यी काम हरु गरेमा घरमा अशुभ र अशन्ति हुने शास्त्रमा उल्लेख छ ।