काठमाडौं । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत आज बिहान ११:०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य तथा बाल्मिकी क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।
घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको छ।
देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको साइत दिइएको समितिले जनाएको छ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो।
कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैं पर्व समाप्त हुन्छ।