
काठमाडौँ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका, दक्षिण कोरिया र जापानलाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न कडा चेतावनी दिएका छन् ।
उत्तर कोरियाको वोनसानमा रहेका उनले ती देशहरूले उत्तर कोरियालाई लक्षित गर्दै कुनै पनि सुरक्षा गठबन्धन वा सैन्य सम्झौता नगर्नु उपयुक्त हुने बताए । उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा विदेशमन्त्री चोई सोन हुईसँग भेटवार्ता गरेका छन्।
रुसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले टेलिग्राममा पोस्ट गरेको एक भिडियोमा उनी र किम जोङ उनबीच हात मिलाएको र अंकमाल गरेको दृश्य देखिएको छ। यस भेटलाई विश्लेषकहरूले उत्तर कोरिया–रूसबीचको सम्बन्ध झनै प्रगाढ हुँदै गएको संकेतका रूपमा लिएका छन्।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले भने, ‘हामी चेतावनी दिन चाहन्छौँ कि यी कूटनीतिक सम्बन्धहरूलाई कुनै मुलुकविरुद्ध गठबन्धन बनाउन प्रयोग नगरियोस्, चाहे त्यो उत्तर कोरिया होस् वा रुस।’