कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पत्नीलाई लिएर हेलिकप्टर चढेर जन्मस्थानको भ्रमण गरेका छन् । पछिल्लो पटक मुख्यमन्त्री शाही यही भदौ ३ गते बिहीवार पत्नी चन्दासहित हेलिकप्टर चढेर आफ्नो गाउँ पचाल झरनामा पुगेका हुन् ।
उक्त भ्रमण टोलीमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर शाही समेत थिए ।
सान्नी त्रिवेणीधाममा पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन भन्दै मुख्यमन्त्री जन्मस्थानमा गएको बताइएको छ । जसबापत साढे दस लाख खर्च भएको छ । मुख्यमन्त्री शाहीको घर भएको पचला झराना र सान्न त्रिवेणी धाम छिमेकी गाउँपालिका हुन् ।
मुख्यमन्त्री शाहीले आफ्नै गाउँमा लगेर हेलिकप्टर ल्यान्ड गराएका थिए । यस राजसी उडानको बिषयमा मुख्यमन्त्री शाहीकी पत्नी चन्दा शाहीले सामाजिक सञ्जालमा तस्विर राखेपछि चर्चामा आएको हो । पत्नी शाहीले चार वर्षपछि कर्मघर पुगेको भनेर सामाजिक सञ्जालमा तस्विर अपलोड गरेकी हुन् ।
मामुली काममा मुख्यमन्त्री शाहीले हेलिकप्टर सयर गरेको यो पहिलोपटक होइन । गत असार ९ गते भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीसँग कालिकोटका विभिन्न पालिकामा गाउँ तथा नगरसभा उदघाटन गर्न उनी हेलिकोप्टर चढेर पुगेका थिए । शाहीले पलाता गाउपालिका, खाडाचक्र नगरपालिका लगायतका पालिकाको सभा असार १० गते उद्घाटन गरेका हुन् ।
सुरु देखि नै हेलिकप्टर मोहमा फसेका शाही यतिबेला भने सामान्य भन्दा सामान्य काममा पनि हेलिकप्टर चढन थालेको बताइन्छ । उनको हेलिकप्टर मोह यतिबेला कर्णाली प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’ को मुख्यमन्त्रीको यो खर्च शैलीमाथि निकै प्रश्नपनि उठेको छ ।