प्रधानमन्त्री भएसँगै शेर बहादुर देउवाको सरकारमा ४ जना मन्त्रीको नाम टुङ्गो लागेको छ ।
नेपाली काँग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुने भएका छन् । यसअगाडि स्वास्थ्य मन्त्रालयमा गगन थापाको नाम चर्चामा आएको भएता पनि उनको विषयमा थप केही कुरा बताइएको छैन ।
पूर्वरक्षामन्त्री खाँण काँग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए । देउवा नेतृत्वको अघिल्लो सरकारमा हुँदा एमसीसीमा हस्ताक्षर गरेका कार्कीले अब एमसीसीलाई सदनबाट पास गर्ने आकलन गरिएको छ ।
त्यस्तै गरी नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । तर मन्त्रीका लागि शर्मा र भुसालको नाम दिँदा आफूहरूसँग कुरा परामर्श नभएको माओवादी केन्द्रका नेताहरूको गुनासो छ ।
शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ ।
जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।