सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र शेरबाहदुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
सोमबार फैसला आएको केहीबेरमै नेकपा(एमाले)का नेता महेश बस्नेतले माइतीघरमा आन्दोलन गर्न आह्वान गरेका थिए।
उनले फेसबुकमार्फत् तुरून्तै भेला भएर प्रदर्शन गर्न निर्देशन दिएका थिए।
‘तुरून्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाविरूद्ध विरोध जनाऔं। आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन,’बस्नेतले लेखेका छन्,’निर्दलीय शाषण व्यवस्थाको पुन बिजारोपन भएको दिन।
व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ वाला केही न्याय मूर्तिका नामधारीहरूले हातमा लिएको क्षण। अब देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ। युवा संघले यसको विरूद्ध तुरून्तै माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ। जो जहाँ छौं। सहभागी बनौं। देशभर विरोध प्रदर्शन गरौं।’