प्रहरीको मिलेमतोमा सनुसरीको नाकादेखि भारततिर तस्करी भएको तीन ट्रक चाइनिज स्याउ प्रकरणमा जोडिएका चार प्रहरी विभागीय कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा प्रदेश १ प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिकेसन टिम ‘रिट’ शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) किरण मोक्तान, प्रहरी चौकी हरिपुर सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भुपराज पोखरेल, सुनसरीकै श्रीपुर जब्दी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्की र सोही कार्यलयमा कार्यरत प्रहरी हवल्दार वीरेन्द्रकुमार यादव रहेका छन् ।
उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरले कारवाही गरेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । उनले उक्त प्रकरणमा प्रहरीका उच्च अधिकारीविरुद्धसमेत छानबिन गर्ने प्रतिबद्धता जनाए । भारतीय प्रहरीले स्याउ बरामद गरेपछि प्रदेश १ प्रहरी कार्यालयले सङ्घीय प्रहरी इकाई कार्यालयका तत्कालीन एसएसपी राजेन्द्र चौधरीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिको सिफारिसमा उक्त प्रकरणमा जोडिएका उनीहरूलाई कारवाही गरिएको डिआइजी बिसीले जानकारी लिए ।
कनिष्ट तहका चार प्रहरी कारवाहीमा परेपनि छानबिनको दायरामा उच्च पदस्थ प्रहरी परेका छैनन् । तस्करी प्रकरणमा तत्कालीन डिआइजी ईश्वरबाबु कार्की र सुनसरी प्रहरी प्रमुख कमल थापाको पनि नाम जोडिएको चर्चा चलेको थियो । दुवै जनाको सरुवा भइसकेको छ ।
गत जेठ २९ गते राति सुनसरीको लाही नाकादेखि तीन वटा ट्रकमा भरेर तस्करी भएको एक हजार ३५० कार्टुन चाइनिज स्याउ जेठ ३० गते बिहान भारत बिहार, सुपौल जिल्लास्थित वीरपुर–भीमनगर सडक खण्डमा भारतीय प्रहरीले नियन्त्रणमा लिइएको थियो । सुनसरीको कोसी गाउँपालिका हुँदै ना ६ ख १५१२, ना ६ ख १८९५, प्रदेश १ –०२–००१ ख ८०४१ नम्बरको ट्रकमा सुनसरीको कोसी गाउँपालिकाको लाही नाका हुँदै भारत प्रवेश गरेको थियो । तीमध्ये ना ६ ख १८९५ नम्बरको ट्रक विराटनगरमा, ना ६ ख १५१२ ट्रक जनकपुरमा र प्रदेश १–०२–००१ ख ८०४१ नम्बरको ट्रक सप्तरीको कञ्चनपुरमा लोड भएको थियो ।
एसएसपी चौधरीको संयोजत्कवमा गठन भएको छानबिन टोलीले बुझाएको प्रतिवेदनको आधारमा कनिष्ट तहका चार प्रहरी कारवाहीमा परेपनि छानबिनको दायरामा उच्च पदस्थ प्रहरी परेका छैनन् । तस्करी प्रकरणमा तत्कालीन डिआइजी ईश्वरबाबु कार्की र सुनसरी प्रहरी प्रमुख कमल थापाको पनि नाम जोडिएको चर्चा चलेको थियो । दुवै जनाको सरुवा भइसकेको छ । तर प्रदेशले उच्च पदस्थमाथि छानबिन नगरेपनि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न सक्ने डिआइजी बिसीले बताए ।
‘सुनसरीदेखि भएको स्याउ तस्करीको विषयमा हल्ला सरकारमा पनि उजुरी पुगेको थियो,’ डिआइजी बिसीले केटिएम दैनिकसँग भने, ‘यस घटनामा प्रहरी प्रधान कार्यालयले मुख्य चासोको रूपमा हेरिएकोले थप अनुसन्धानका लागि चासो राखेको छ ।’
स्याउ तस्करीको घटनामा प्रदेश प्रहरी कार्यालय अन्तर्गत (रिट)का सही मोक्तानको संलग्नतालाई निक्कै अर्थपूर्ण रूपमा हेरिएको छ । मोक्तानले स्याउ तस्करीको लाइन मिलाउन सुनसरी जिल्लाको फिल्डमा रहेको कोसी कटान र श्रीपुर मातहतका प्रहरीसँग सम्पर्क गरेका थिए । तर मोक्तान प्रदेश प्रहरी कार्यालय अन्तर्गत (रिट)का इन्स्पेक्टरको योजनामा खटिएको बताइएको छ ।
इन्स्पेक्टरको नेतृत्वमा रिट हुने गर्दछ । त्यसो हुँदा प्रदेश प्रहरी कार्यालयकै योजनामा स्याउ सुनसरी हुँदै तस्करी गराइएको हुनसक्ने आशंकामा थप पुष्टि हुने आधार देखिएको छ । सई घुमुवा प्रहरी मोक्तान यसअघि पनि सुनसरी, मोरङ र झापाका तस्करहरूसँग मासिक असुली गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।
भारतीय प्रहरीले स्याउ बरामत गरेलगत्तै सीमा प्रहरी चौकी भण्टाबारी सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक गङ्गाप्रसाद थापा, श्रीपुर जब्दी सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्की, र अस्थायी प्रहरी चौकी कोसी कटान सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक आशनारायण माझीलाई निलम्बन गरेको थियो । थापा र माझीको संलग्नता नदेखिएपछि उनीहरूले सफाइ पाएका छन् ।