तस्बिरमा राजा त्रिभुवनलाई सिगरेट सल्काउन मद्धत गरिरहेका ब्यक्ति इजिप्टका तत्कालीन राष्ट्रपति जनरल मोहम्मद नागुइब हुन। यो तस्बिर सन् १९५४ को जनवरीको शुरूवाती दिनमा लिइएको हुन सक्छ। राजा त्रिभुवन पहिलोपटक सन् १९५३ को ११ अक्टोबरमा बम्बईबाट इटालियन जलपरिवहन लोइड ट्राईएस्टोलनको एस।एस। भिक्टोरिया १११ नामक पानी जहाजमा चढेर स्वीट्जरल्यान्डका लागि इटालीको हुँदै युरोप तर्फ प्रस्थान गरेका थिए ।
पानीजहाजको यात्रा गरेर युरोप जाँदा बिच बाटोमा नै उनलाई हृदयघात भएपछि युरोपबाट नेपाल फर्कँदा भने हवाइजहाजमा फर्किएका थिए। फ्रान्सबाट इजिप्ट हुँदै नेपाल फर्कंदा उनी इजिप्टको कायरोमा रोकिएका थिए। नेपालका राष्ट्राध्यक्ष राजा त्रिभुवन ट्रान्जिटका रुपमा इजिप्टमा रोकिँदा इजिप्ट सरकारले आतिथ्यता प्रदान गरेको थियो ।
स्वीट्जरल्यान्डमा उपचार गर्न पहिलो पटक युरोप जाँदा राजा त्रिभुवनले युरोपमा कुल ११ हप्ताको समय बिताएका थिए। चिकित्सकको सल्लाह अनुसार तनाव कम गर्न र हावापानी बदल्ने भन्दै राजा स्वीट्जरल्यान्ड पछि इटाली र फ्रान्समा बसेका थिए । जुरिचबाट इटालीको रोम हुँदै ०७ डिसेम्बर १९५३ मा दिन उनी फ्रान्सको पेरिस पुगेका थिए। पेरिसमा राजालाई फ्रान्सका तत्कालीन राष्ट्रपति भान्सिन्ट ओरियलले नै आतिथ्य प्रदान गरेका थिए । पेरिस पुगेको दुई दिन पछि नेपालका राजालाई फ्रान्सेली राष्ट्रपति भवनमा नै निम्त्याएर त्यहाँका राष्ट्रपतिले राजाको सम्मानमा दिवा भोजको आयोजना समेत गरेका थिए । सोही समारोहमा फ्रान्सका राष्ट्रपति ओरियलले नेपालका राजा त्रिभुवनलाई फ्रान्सको सर्बोच्च सम्मान ुग्राण्ड काय डला लिजियोड्नेयर पदकु को तक्मा समेत प्रदान गरेका थिए ।
पेरिसमा केही हप्ता बसेर राजा १९ डिसेम्बरमा फ्रान्सको अर्को शहर नीस पुगेका थिए । युरोप जाँदा पानी जहाजमा गएको र समुद्री यात्रा गर्दा स्वास्थ्यमा झन् अप्ठ्यारो परेपछि यसपटक फर्किँदा भने राजा हवाईजहाज मार्फत फर्किन चाहे । निसमा केही दिन बसेपछि उनी नेपाल फर्किंदा निसबाट पहिले इजिप्टको कायरोमा अवतरण गरे । इजिप्टको कायरोबाट एअर इण्डिया इण्टरनेशनलको विमान चढेर ०५ जनवरी १९५४ को बेलुकी उनी भारतको बम्बईमा ओर्लिएका थिए ।
यो तस्बिर त्यही कायरो बसाइका क्रममा राजाका साथमा रहेका शाही फोटोग्राफर काजी कृष्णलाल चित्रकारले लिएका हुन। काजी कृष्णलाल मेमोरियल ट्रस्टको नामबाट इन्टरनेट संजालमा राखिएको यस तस्बिर त्यहीँबाट लिइएको हो ।