दार्चुला महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा बस्दै आएका १२ वर्षीय रमित कुँवरको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।
महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पूलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले केटिएम दैनिकलाई बताए ।
मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युमपाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पूलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । ह्युमपाइप भित्र अड्कीएर मृत्यु भएका बालकलाई जेसीभी लगेर निकालिएको हो ।