भोजपुरको षडानन्द नगरपालिकामा एक युवकले अन्तरजातीय विवाह गरेकै कारण मृत्युको बाटो रोज्नुपरेको छ । अन्तरजातीय विवाह गरेपछि केटी पक्षले कुटपिट र जातीय गाली–गलौच गरेको भन्दै षडानन्द नगरपालिका–१४ बोयाका १९ वर्षीय सङ्गम ठटाल दर्जीले आत्महत्या गरेका हुन् ।
अन्तरजातीय प्रेम विवाह गरेका किशोर–किशोरीलाई जबरजस्ती छुटाएपछि जङ्गलमा गइ सङ्गमले आत्महत्या गरेका हुन् । घटना गत जेठ १५ गतेको हो । नेवार जातकी केटीसँग प्रेम विवाह गरेका सङ्गम भोलिपल्टबाट बेपत्ता भएका थिए । बेपत्ता भएको तीन दिनपछि जङ्गलमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएका थिए ।
सङ्गमका आफन्तका अनुसार सङ्गम ट्याक्टरमा मजदुरी गर्थे । उनको षडानन्द–१३ मा पर्ने बोयाकी श्रेष्ठ जातकी युवतीसँग प्रेम सम्बन्ध थियो । एक वर्षको प्रेम सम्बन्धपछि उनीहरूले जेठ १० गते प्रेम विवाह गरेका थिए । सङ्गमले ती किशोरीलाई आफ्नो घरमा लिएर गएका थिए ।
तर, युवतीका आफन्तले प्रहरीमा उजुरी दिएपछि जेठ ११ गते प्रहरीले दुवै जनालाई पक्राउ नियन्त्रणमा लिएको छ । सोही दिन छलफलपछि प्रहरीले दुवैलाई आफन्तको जिम्मा लगाएको थियो । किशोरीको उमेर १५ वर्षकी मात्रै भएकाले प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो ।
प्रहरीचौकीमा प्रेमिकासँग गलबन्दी र सल साटासाट गरेर रुँदै घर आएका सङ्गम जेठ १२ गते बिहानै घरैबाट बेपत्ता भए । सङ्गम दुई दिनसम्म घर नआएपछि बुबा गोरखबहादुरले वडाध्यक्ष र प्रहरीलाई खबर गरे । प्रहरीले थालेको जेठ १५ गते बेलुका घरदेखि करिब डेढ घण्टा टाढा रहेको जङ्गलमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । सङ्गमका बुबाले छोराको मृत्यु रहस्यमय भएको भन्दै केटीका आफन्तविरुद्ध उजुरी दिएका थिए । प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको थियो ।
पोस्टमार्टम रिपोर्टमा सङ्गमको मृत्युको कारण आत्महत्या नै रहेको खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनले केटिएम दैनिकसँग भने, ‘हामीले शव भेटेको भोलिपल्ट पोष्टमार्टम गरेर आफन्तलाई शव बुझायौँ । शरीरको अन्य भागमा चोटपटक थिएन, पोष्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण आत्महत्या नै छ । अझै पनि यस विषयमा अनुसन्धान भइरहेको छ ।’
यस्तै उनले किशोरी विवाह गर्ने उमेरकी नभएका कारण नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाइएको बताए । ‘१५ वर्षकी बालिका भएका कारण कानुनबाट बर्जित काम हुन दिएनौँ’, उनले भने, ‘अन्तरजातीय विवाह भन्ने प्रसङ्ग होइन, बालविवाह भएका कारण रोकेका हौँ ।’
यता, मृतकका आफन्तले भने अन्तरजातीय विवाह गरेकै कारण सङ्गममाथि जातीय गालीगलौच तथा कुटपिट भएको आरोप लगाएका छन् । सङ्गममाथि वडाध्यक्ष झङ्कबहादुर रोकाले कुटपिट गरेको आरोप आफन्तको छ । प्रहरीकै रोहवरमा वडाध्यक्ष झम्कबहादुर रोकाले बालविवाहको मुद्दा लगाउने भन्दै जातीय भेदभावजन्य गालीगलौज गरेर ११ जेठमा विवाह तोडिदिएको आरोप छ ।
दाजु केदार दर्जीले भने केटो दलित र केटी माथिल्लो जातकी भएका कारण छुट्टाइएको बताउँदै जबरजस्ती छुटाएपछि भाइले आत्महत्या गरेको हुनसक्ने बताए । केदार मृतकका ठूलोबुबा छोरा हुन् ।
वडाध्यक्ष झम्कबहादुर रोकाले भने अन्तरजातीयभन्दा पनि किशोरीको उमेर कम भएका कारण आफन्तलाई बुझाइएको बताए । दुवै पक्ष राजी भएपछि प्रहरीले जिम्मा लगाएपनि घटनापछि अनेक आरोप आएको वडाध्यक्ष रोकाले बताए । आफूले सङ्गमलाई कुटटपिट नगरेको पनि उनको भनाइ छ ।
प्रहरीले जाहेरी लिन मानेन
अन्तरजातीय विवाह गरेकै कारण आफ्नो छोराको ज्यान गएको भन्दै वडाध्यक्ष झङ्कबहादुर रोकाविरुद्ध कुटपिट, जातीय भेदभावजन्य गाली बेइजती गरी डर धम्की देखाई आत्महत्या गर्न बाध्य पारेको भन्दै सङ्गमकी आमा सीता ठटाल जाहेरी लिएर शुक्रबार जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । तर पीडित परिवार र अधिकारकर्मीसँग प्रहरीले उजुरी लिन अस्वीकार गरेको स्रोतले जनाएको छ ।
जातीय भेदभाव, कुटपिट र गालीबेइजती तथा ज्यानसम्बन्धी मुद्दा दर्ता गर्न प्रहरीमा गए पनि डिएसपीले उल्टै बालविवाह, बाल हिंसा र त्यसको मतियार बनेको भन्दै अर्को मुद्दा अघि बढाउने भन्दै धम्क्याएको दलित अधिकारकर्मी बबिन्द्र रसाइलीले बताए ।
प्रहरीले भने यसअघि आत्महत्या शीर्षकमा घटना दर्ता भइसकेकाले अर्को मुद्दा दर्ता गर्न नपर्ने दाबी गरेको छ । डिएसपी चन्दले पोस्टमार्टम रिपोर्टले प्रस्टसँग झुन्डिएर मृत्यु भएको देखाएको बताउँदै यो एउटा आत्महत्याको घटना बताए ।