मोरङको सुन्दरहरैँचा नगरपालिकामा लोडरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी गैंगाकोट–९ घर भइ सुन्दरहरैँचा–८ सलकपुर बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापा रहेका छन् ।
मङ्गलबार राति सलकपुरमा भएको को ३५ प ५९७१ नम्बरको मोटरसाइकल अन टेस्ट लोडरसँग ठोक्किएको थियो । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पठाइएको थियो ।
उनको उपचारका क्रममा राति ८ः५५ बजे मृत्यु भएको डिएसपी तिम्सिनाले जानकारी दिए । यस्तै, दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–६ गछियाका ३० वर्षीय रूपक खड्का घाइते सामान्य घाइते भएका छन् ।
लोडर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३३ वर्षीय सरोज गौतमलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट लोडर चालकका साथमा सवारी चालक अनुमतिपत्र नभएको तथा मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।