कास्की, २५ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विक रहेका छन उनको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मोबाइल चार्ज गर्ने क्रममा स्याङजाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको पनि करेन्ट लागेर मृत्यु भएको छ ।
मोबाइल चार्ज गर्ने खोज्दा भुइँमा रहेको तारबाट अचानक करेन्ट लागेर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।