यस वर्ष २०७८ सालमा संसारभर ४ वटा ग्रहण देखिनेछ जसमध्ये तीनवटा ग्रहण नेपाली आकाशबाट देखिने छैनन् । वैशाख १२ गते बुधवार वैशाख शुक्ल पूर्णिमाका दिन लाग्ने चन्द्र ग्रहण खग्रास चन्द्र ग्रहण हो ।
नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै ग्रहण मोक्ष हुने भएकाले नेपाली आकाशबाट चन्द्रमाको सघन छाया ( पृथ्वीको छायाको कालाे भाग) नदेखिने तर चन्द्रमाको विरल छाया मात्रै देख्न सकिनेछ । शास्त्रीय नियम अनुसार बुधवार लाग्ने चन्द्र ग्रहण नेपालको कुनै पनि भूभागमा बसोबास गर्ने मानिसहरूले बार्न नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएका पञ्चाङ्ग हरूमा उल्लेख गरिएको छ ।
नेपालको कुनै पनि कुनाबाट चन्द्र ग्रहण छाया नदेखिने भएकाले यसको सूतक पनि बार्नु नपर्ने ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी गराएका छन् ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्र ग्रहण लाग्ने गर्छ । चन्द्र ग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो ।
सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । २०७८ सालमा नेपालबाट कुनै पनि प्रकारका ग्रहणहरू नदेखिने र अन्य देशहरूमा लागेका ग्रहणहरूको दोष बार्नु नपर्ने ज्योतिषी रिजालले जानकारी गराएका हुन् ।