मोरङमा कोरोना सङ्क्रमणका कारण बिहीबार बिहान १८ वर्षीया युवतीसहित छ जनाको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।
नोबेलमा सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको मृत्यु भएको छ । गत वैशाख २८ मा भर्ना भएकी उनको आज बिहान ४ः४० बजे मृत्यु अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार ती युवतीमा कुनै दीर्घरोगको समस्या थिएन ।
यस्तै नोबलमै उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । २८ गते नै भर्ना भएकी उनको आज बिहानका राति १ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।
यसैगरी, नोबेलमै उपचाररत सप्तरीको कञ्चनपुर–८ का ७० वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । १२ वैशाखमा भर्ना भएका उनको उपचारकै क्रममा बिहान ५ बजे मृत्यु भएको हो ।
त्यसैगरी, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ६० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका–५८ वर्षीय पुरुष रहेका छन् ।
केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार वैशाख २४ गते अस्पताल भर्ना भएका विराटनगका वृद्ध पुरुषको बिहानका राति करिब १ बजे मृत्यु भएको हो । यस्तै ललितपुरका पुरुष वैशाख २६ गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।
यस्तै मोरङको बूढीगङ्गामा रहेको विराट मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा विराटनगर–१ का ३० वर्षीय युवाको मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार वैशाख २५ गते अस्पताल भर्ना भएका उनको बिहानका राति १२ः३० बजे मृत्यु भएको हो ।