झापाको कनकाई नगरपालिकामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको छ । त्यसमध्ये अधिकांश सङ्क्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहेका सङ्क्रमितको हेरचाहका लागि भने नगरप्रमुख राजेन्द्रकुमार पोखरेल आफैँ पुग्ने गरेका छन् ।
उनी सङ्क्रमितलाई चाहिने अक्सिजन, औषधि तथा चिकित्सकको टोली लिएरै फिल्डमा उत्रिन्छन् । कोरोनाले आक्रान्त बनाइरहेको अवस्थामा उनको यो सेवाबाट कनकाईबासी भने सन्तुष्ट देखिएका छन् । हालसम्म नगरप्रमुख पोखरेललले चार वटा अक्सिजनका सिलिन्डर घरमै पुर्याएका छन् भने यो अभियानलाई निरन्तरता दिन उनी बिहानैदेखि खटिएका छन् ।
त्यसबाहेक उनले डा. अभिषेक नायक र डा. मनिष तिम्सिनासहित गरी आठ जना चिकित्सकको टोली बनाएर नगरमा रहेका सङ्क्रमितको उपचार, स्वास्थ्य परामर्श तथा हेरचाहका लागि खटाउँछन् । उनी आफैँ पनि चिकित्सकका साथ औषधि र सिलिन्डर लिएर सङ्क्रमित भेट्न पुग्छन् ।
यस्तै, डाक्टरद्वय नायक र तिम्सिनालाई २४सै घण्टा सङ्क्रमितसँग परामर्श गर्नका लागि तयार रहन र सङ्क्रमितलाई पनि गाह्रो परेको खण्डमा डाक्टरसँग फोन सम्पर्क गरेर परामर्श लिन नगरप्रमुख पोखरेलले अनुरोध गरेका छन् ।
यसैगरी नगरपालिकाले कोभिडका बिरामीलाई लक्षित गरेर २० बेडको आइसोलेसन अस्पताल सञ्चालनका लागि तयारी कसेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण भइसकेको आइसोलेसन सुचारु हुने तरखरमा छ । मङ्गलबारबाटै सञ्चालन गर्ने तयारी भएपनि काठमाडौँबाट आवश्यक सामग्री नआइदिँदा ढिलाइ भएको नगरप्रमुख पोखरेलले बताए ।
‘चीनबाट सामान आइसकेको छ । हामीले मगाएको सामान आउने प्रक्रियामा छ । भन्सार कडाइ गरेका कारण ढिला भएको जानकारी पाएका छौँ’, उनले केटिएम दैनिकसँग भने, ‘अहिलेसम्म सङ्क्रमितलाई प्रदेश नम्बर एकको जुनसुक्कै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाएका छौँ । यसका लागि नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।’ काठमाडौँबाट आठ वटा सिलिन्डर पनि मगाएको उनले बताए ।
कोरोना सङ्क्रमितलाई अस्पताल लग्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स तथा सङ्क्रमितको निधन भएमा शव व्यवस्थापन गर्न शव बाहनको व्यवस्था गरिएको उनको भनाइ छ । दोस्रो लहरको कोरोना महामारीका कारण नगरका एक जनाको मृत्यु भएको छ ।
अक्सिजनको अभाव
हाल नगरपालिकाले २० जना बिरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन गरेको छ । तर अक्सिजनको अभाव हुन थालेको नगरप्रमुख पोखरेलको भनाइ छ । ‘अक्सिजनको अभाव नै छ । नगरपालिकाले दिने अस्किजनको सिलिन्डर पाँच–सात घण्टामात्र टिक्ने देखिएको छ । अभावका कारण अलि धेरै अक्सिजन चाहिने बिरामीलाई अस्पताल लैजानुपरेको हो’, उनले थपे ।