मोरङको विराटनगरबाट कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ नक्कली बनाएर बिक्री गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गर्यो । पक्राउ पर्नेमा विराटनगर–४ नोबेल टिचिङ्ग हस्पिटल अगाडि रहेको साथी फार्मेसीका सञ्चालक सोनु आलम र कामदार श्रवणकुमार यादव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी बिक्री वितरण गरेको आरोपमा आलम र यादवलाई शुक्रबार पक्राउ गरेको हो । सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजारदेखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै कारोबार गर्ने गरेको खुलेको छ ।
मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले नक्कली इन्जेक्सन बिक्री वितरण गरेको सूचना बाहिरिएपछि छापा हानेर पक्राउ गरिएको जानकारी दिए ।
यसरी पक्राउ परे दुई जना
शुक्रबार मध्याह्न जिल्ला मोरङ विराटनगर महानगरपालिका–४ स्थितमा रहेको साथी मेडिकल औषधि पसलमा जिल्ला मोरङ विराटनगर महानगरपालिका–१० अशोक चोक बस्ने वर्ष २६ को सोनु आलमले स्टासेफ नामक औषधिमा रेमडेसिभरि औषधिको नक्कली स्टीकर टाँस गरी बढी मूल्य राखी बिक्री–वितरण गरिरहेको भन्ने प्रहरीले गोप्य सूचना पाएको थियो ।
उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजे साथी मेडिकल औषधि पसलमा छापा मारेको थियोर । खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र रेमडेसिभिर औषधि १ बट्टा (सिसी) फेला पर्यो ।
सो औषधी कानूनवमोजिम बरामद गरी उनलाई प्रहरीले पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूरअन्तर्गत कारवाही प्रक्रियासमेत अगाडि बढायो ।
यस्तै यस विषयमा थप अनुसन्धान गर्नेक्रममा स्टासेफ औषधी रू ९० मा खरिद गरी ८ हजारसम्ममा बिक्री गर्ने गरेको पनि खुलेको थियो । प्रहरीका अनुसार उक्त औषधिमा टाँस्ने स्टीकर भारतको पटनाबाट आयात गरी ल्याएको पनि खुलेको थियो ।
त्यसपछि प्रहरीले संलग्ना खोज्दै जाँदा विराटनगर १६ रानी बस्ने २३ वर्षीय यादवसमेत संलग्न रहेको पाएको थियो । यादव लागुऔषध मुद्दाका प्रतिवादीसमेत हुन् । गत वर्षको कात्तिक २५ गते विराटनगर महानगरपालिका वडा नं.–११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको थियो । सो कसूरमा अनुसन्धानको क्रममा उनी फरार थिए ।
फरार आरोपी यादवको समेत नक्कली रेमडेसिभिर बिक्री गर्ने कार्यमा संलग्नता भएका हुँदा उनलाई विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरी लागुऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूरअन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको एसपी खड्काले जानकारी दिए ।