काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।
भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिएको हो ।
कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड बनाइ निर्देशन जारी गर्ने उनले बताए ।
‘आजदेखि आन्तरिक उडान बन्द भएकाले हवाई यात्रुहरु विमानस्थल जानु नपर्दा सडकमा यात्रुहरुको सङ्ख्या घट्छ भने अरु चहलपहल पनि घटाउँछौँ’ प्रजिअ भट्टराईले भने । अब सरकारी कार्यालय तथा बैंक र वित्तीय कार्यालयहरु आधा क्षमतामा मात्रै चलाएर निश्चित सङ्ख्यामा मात्रै गाडी चलाउन दिने, अत्यावश्यक बाहेकका आवतजावत रोक्ने, नाकामा जाँचमा कडाइ गर्ने लगायतका तयारी भएको छ । भोलिदेखि नै थप कडाइ हुने र सङ्क्रमणको अवस्था हेरेर थप निर्णय लिने प्रजिअ भट्टराईले बताए ।
काठमाडौं उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बैठक बसेर बैशाख १४ गते एक सूचना जारी गरेका थिए । उनीहरुले जारी गरेको सूचनामा वैशाख १६ गतेदेखि वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएको हो । तर मन्त्रिपरिषद्को निर्णयले भने १५ दिन निषेधाज्ञा लगाउने घोषणा गरेको थियो ।
प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरिसकेको अवस्थामा त्यही दिन मन्त्रिपरिषद्ले १५ दिनको निषेधाज्ञा जारी गर्नु समन्व्य अभाव भएको आम मानिसहरुको गुनासो छ । यदि मन्त्रिपरिषद्ले नै निर्णय गर्ने भएको भए सिडियोबाट आदेश आउनु हुँदैन्थ्यो वा सिडियोबाट आदेश आइसकेको अवस्थामा त्यही दिन मन्त्रिपरिषदबाट निर्णय आउनुले आम मानिसहरुमा दुविधा भएको बुझाई छ ।