नयाँ वर्ष २०७८ को शुरुवातसँगै सेयर बजारमा नयाँ उमङ्ग छाएको छ । बजारमा नेप्से परिसूचक बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
२०७८ बैशाख २ गते पहिलो कारोबार भएको दिन परिसूचक २०.६१ अंकले बढेर २७३५.४० बिन्दुमा पुगेको छ । जुन नेपाली बजारको ऐतिहासिक बिन्दु हो ।
गत वर्षको अन्तिम दिन अर्थात चैत ३१ गते परिसूचक २७१४ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । उक्त रेकर्डलाई आजको बजारले ब्रेक गर्दै नयाँ बिन्दु २७३५ मा पुगेर बजार बन्द भएको छ ।
उच्च बिन्दुमा पुगेको बजारमा कारोबार रकममा पनि सुधार भएको छ । आज पौने ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
व्यापार र जलविद्युत बाहेक कारोबार भएका अरु सबै समूहमा हरियाली छायो । विकास बैंक समूहमा सबैभन्दा उच्च ९० अंकको बृद्धि आयो । जीवन बीमा, उत्पादनमूलक, वित्त र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
आज २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ८ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।