काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्यहाँको ‘हरित विद्यालय’ मोडल र बालमैत्री शैक्षिक अभ्यासको स्थलगत अवलोकन गरेका छन्।
एन्टाल्यामा रहँदा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई स्थानीय शैक्षिक संस्थाहरूको भ्रमण गराएका हुन्। सो क्रममा दुवै मन्त्रीले एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) को अवलोकन गरेका थिए।
अवलोकनका क्रममा मन्त्री पोखरेलले टर्कीको बालमैत्री, प्रकृतिमैत्री तथा प्रयोगात्मक सिकाइ प्रणालीबारे चासो व्यक्त गर्दै विद्यालय व्यवस्थापन र शिक्षण पद्धतिबारे जानकारी लिएका थिए।
विद्यालय परिसरमा सञ्चालित कार्यशाला, बिरुवा उत्पादन क्षेत्र तथा मिनी ग्रिनहाउसको निरीक्षण गर्दै उनले बालबालिकाले तयार पारेका ‘शून्य फोहोर’ परियोजना, पुनः प्रयोगका अभ्यास र गोलभेँडालगायतका तरकारी तथा बिरुवा उत्पादन गर्ने विधिबारे शिक्षक र विद्यालय प्रशासनसँग छलफल गरेका थिए।
भ्रमणमा टर्कीको सत्तारुढ एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडीका उच्च प्रतिनिधिहरूको पनि सहभागिता थियो।
सो अवसरमा दुवै देशका शिक्षामन्त्रीले शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गर्दै पूर्वप्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका अनुभव, शैक्षिक पूर्वाधार तथा विद्यालय र अभिभावकबीचको सहकार्यका विषयमा छलफल गरेका थिए।
कार्यक्रममा बालविकास केन्द्रका विद्यार्थीहरूले परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरी अतिथिहरूको स्वागत गरेका थिए। मन्त्रीद्वयले बालबालिकाको सिर्जनशीलता र वातावरणमैत्री गतिविधिको प्रशंसा गर्दै उनीहरूसँग संवादसमेत गरेका थिए।
अवलोकनपछि मन्त्री पोखरेलले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको अभ्यास र जलवायु परिवर्तनसम्बन्धी चेतना विकास गर्न सके नयाँ पुस्तालाई वातावरणमैत्री र विपद् उत्थानशील बनाउन सकिने धारणा राखे।
उनले नेपालमा पनि पूर्वप्राथमिकदेखि विद्यालय तहसम्मको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने प्रयास भइरहेको जानकारी गराए। यसका लागि टर्कीको शैक्षिक अभ्यासबाट पनि महत्वपूर्ण पाठ सिक्न सकिने उनको भनाइ थियो।
नेपालमा विद्यालयको भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कन गर्नुका साथै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरेर विद्यालय तहको पाठ्यक्रममा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी विषय समेट्ने प्रक्रिया अघि बढाइएको छ।
टर्किस समकक्षीसँगको भेट, विद्यालयको स्थलगत अवलोकन र अनुभव आदानप्रदानले नेपालको विद्यालय शिक्षा सुधार तथा हरित विद्यालय निर्माण अभियानलाई थप सहयोग पुग्ने विश्वास मन्त्री पोखरेलले व्यक्त गरेका छन्।