काठमाडौं । रासिद खानको उत्कृष्ट अर्धशतकको मद्दतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो ।
काठमान्डुका लागि रासिद खानले सर्वाधिक ५२ रन बनाए । उनले ३० बलमा २ चौका र ४ छक्का प्रहार गरे । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध ५० रन बनाएका थिए ।
काठमान्डुले सुरुवातमै दुई विकेट गुमाएको थियो । ओपनर डेभिड वार्नर ६ बलमा १ रन र साहिल पटेल ८ रन बनाएर आउट भएपछि टोली ३.५ ओभरमा १३ रनको अवस्थामा पुगेको थियो ।
त्यसपछि रासिदले विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । बोसिस्टोले २२ बलमा २७ रन बनाए ।
रासिदले सहान अराचिगेसँग चौथो विकेटका लागि थप ५३ रनको साझेदारी गरे । अराचिगेले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए ।
अर्धशतक पूरा गरेलगत्तै रासिद १६औँ ओभरमा सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याच आउट भए ।
काठमान्डुका कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै ७ बलमा ३ छक्कासहित २० रन जोडे । उनी १८औँ ओभरमा रिभ्युबाट एलबीडब्ल्यू आउट भए ।
जहानदाद खान र आदिल आलमले समान ९ रन बनाए भने सन्तोष यादवले २ बलमा एक छक्कासहित अविजित ८ रन जोडे ।
बलिङतर्फ चितवनका रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । कप्तान सिकन्दर राजा र कमलसिंह ऐरीले समान २ विकेट लिए । राजाले ४ ओभरमा १९ तथा ऐरीले २५ रन खर्चिए । डान मोस्लीले एक विकेट लिए ।