काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
महाशाखाका अनुसार शुक्रबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।