काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गर्ने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण सरकारले नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने टिप्पणी गरे ।
सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधवारको बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।
सरकारको निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला ।’
यसैबीच, ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मंगलवार राम्रो कुराकानी भएको जानकारी दिए । उनीहरूबीच राजनीतिक विषयमा छलफल भएको ओलीले बताए ।
‘गगनकुमार थापासँग राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए,’ उनले भने ।