काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणलाई लिएर सरकारमाथि सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन्। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा सुशासनभन्दा छाडातन्त्र हावी भएको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने स्पष्ट पारेको बताइन्। प्रधानमन्त्री को हुन् भन्ने विषयमै आम नागरिक अन्योलमा पर्न थालेको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
उनले नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोपसमेत लगाइन्। सत्ताले गरेका गल्ती सार्वजनिक हुँदा त्यसको जवाफ दिनुपर्ने समय सरकार र सत्तारूढ दलको आएको उनको भनाइ छ।
प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय जिम्मेवार सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले त्यसबारे सरकारसँग जवाफ मागेकी छन्।
‘कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’ उनले प्रश्न गरेकी छन्।