काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज कुनै पनि खेल सञ्चालन हुने छैनन् । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिनका लागि विश्राम राखिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
हालसम्म तीन खेल खेलेको लुम्बिनी लायन्स दुई जित र एक खेलमा अंक बाँड्दै पाँच अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । तीनवटै खेलमा पराजित पोखरा एभेन्जर्स भने अंकतालिकाको पुछारमा छ ।