बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।
किसानले उत्पादन गरेको सबै जातका धानको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित सहकारीले धान खरिद प्रक्रिया सुरु गरेको संस्थाका मुख्य प्रबन्धक जमानसिंह वलीले जानकारी दिए ।
स्थानीय किसानलाई प्रोत्साहन गर्नुका साथै उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिदको योजना अघि सारिएको वलीले बताए । सहकारीले धानको जातअनुसार फरक–फरक मूल्य निर्धारण गरेको छ ।
निर्धारित मूल्यअनुसार मसिनो धान प्रतिक्विन्टल ३ हजार २०० रुपैयाँ, राधा–४ मोटो धान प्रतिक्विन्टल २ हजार ८५० रुपैयाँ र जुनसुकै जातको हाइब्रिड धान प्रतिक्विन्टल २ हजार ७५० रुपैयाँमा खरिद गरिनेछ । धान बिक्री गर्न इच्छुक किसानले सहकारीको गोदाम वा सङ्कलन केन्द्रमा धान पुर्याउनुपर्नेछ ।
सहकारीले किसानबाट १० हजार क्विन्टल धान खरिद गर्ने अभियानले राप्ती सोनारी क्षेत्रका किसानको आर्थिक अवस्था सुधार गर्न तथा कृषि उपजको बजारीकरणमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
राप्ती सोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीमा आठ हजारभन्दा बढी किसान आबद्ध छन् । किसानले उत्पादन गरेको धान खरिद गरी भण्डारण गर्न राप्ती सोनारी–५ बिनौनास्थित गोदाममा आवश्यक व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताए ।
सहकारीले किसानलाई बीउ धान उत्पादनमा समेत प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बीउ धान पनि संस्थाले खरिद गर्ने गरेको अध्यक्ष वलीले जानकारी दिए ।
किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यस वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ । मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत सहज रूपमा बिक्री गर्न तथा गाउँमै कुटानी–पिसानी सेवा लिन सक्ने भएका छन् ।
स्थानीयस्तरमै कृषि उपजको प्रशोधन र बजार व्यवस्थापन हुन थालेपछि किसानमा व्यावसायिक खेतीप्रतिको आकर्षण थप बढ्ने विश्वास गरिएको छ ।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँके जिल्लाका लागि धान खरिदको कोटा १० हजार क्विन्टल मात्रै निर्धारण गरेको छ । यस्तो अवस्थामा सहकारीले गाउँगाउँमै पुगेर धान खरिद गर्दा किसानलाई ठूलो राहत पुग्ने किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णबिक्रम केसीले बताए ।