काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका भूभाग, उपत्यका र खोँचहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
बिहीबार देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।