काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो ।
चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । ईशान पाण्डेले २५, शेर्फन रुदरफोर्डले २१ तथा आरिफ शेखले २० रनको योगदान दिए । रुदरफोर्ड र आरिफ अविजित रहे ।
चितवनका रञ्जित कुमारले तीन विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । उसका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर राजाले समान १५ रन जोडे ।
सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए ।
यस जितसँगै चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । चितवनले भने तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ ।