रौतहट । रौतहटको राजपुर नगरपालिकामा तीनवटा खुट्टा भएकी बालिकाको जन्म भएको छ । राजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान ५ बजे २८ वर्षीया नुसिदा खातुनले सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी हुन् ।
स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात शिशुको तौल तीन किलोग्राम रहेको छ । जन्मपछि गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालिकाको अवस्था सामान्य पाइएको उनले जानकारी दिए ।
बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टामा अर्को अतिरिक्त खुट्टा जोडिएको छ । अतिरिक्त खुट्टा अन्य दुई खुट्टाको तुलनामा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार शिशुको असामान्य शारीरिक अवस्थालाई मध्यनजर गर्दै थप परीक्षण तथा उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजान चिकित्सकीय सल्लाह दिइएको थियो । तर, परिवारका सदस्यहरूले आपसी सल्लाहपछि बालिकालाई स्वास्थ्य केन्द्रबाटै घर लगेका छन् ।
बालिकाको शरीरमा अतिरिक्त खुट्टा जोडिनुको कारण तथा त्यसको उपचार सम्भावनाबारे विस्तृत जानकारी चिकित्सकीय परीक्षणपछि मात्रै थाहा हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।