काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता पूरा भएको बताएकी छन् ।
बौद्धनाथमा आयोजित तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०२६’ को समापन समारोहमा उनले सन् २०२३ मा युनेस्कोबाट सिर्जनशील चलचित्र सहरको मान्यता पाएपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता महानगरले सन् २०२६ मै पूरा गरेको बताइन् ।
उनका अनुसार फेस्टिभलले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको छ । वसन्तपुरबाट सुरु भएको फेस्टिभल बौद्धनाथमा समापन गर्न पाउँदा खुसी लागेको उनले बताइन् ।
पहिलो दिन वर्षाका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भए पनि कलाकार, स्वयंसेवक, महानगरपालिका परिवार र नगर प्रहरीको सहयोगले फेस्टिभल सफल भएको उनले बताइन् । वर्षाका बीच पनि चलचित्र हेर्न उत्साहित वरिष्ठ कलाकारप्रति उनले आभार व्यक्त गरिन् ।
फेस्टिभल सफल बनाउन सहयोग गर्ने चलचित्र विकास बोर्ड, एलायन्स फ्रान्सेज, अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अन्य साझेदार संस्थालाई धन्यवाद दिँदै उनले आयोजक टोलीको मेहनतको प्रशंसा गरिन् । तयारीका क्रममा राति १० बजे सुरु हुने बैठक बिहान २ देखि ३ बजेसम्म चल्ने गरेको अनुभव पनि उनले सुनाइन् ।
नेपाली चलचित्र र कथालाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउनु फेस्टिभलको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै डंगोलले भनिन्, ‘नेपालले विश्वका कथाहरू हेर्ने, सुन्ने मात्र होइन, विश्वले पनि हाम्रा कथाहरू देख्न र सुन्न पाउनुपर्छ ।’
वरिष्ठ कलाकारहरूले वर्षाका बीच पनि चलचित्र हेर्न देखाएको उत्साहले आफूहरूलाई थप ऊर्जा दिएको उनको भनाइ थियो ।
फेस्टिभलको औपचारिक समापन भए पनि नेपाली कथा र चलचित्रलाई विश्वमाझ पुर्याउने यात्रा निरन्तर रहने उनले बताइन् ।