रुपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्य सञ्चालनलाई बालबालिकाले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन्।
सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिका गतिविधिले राज्य सञ्चालनलाई मजाकको विषय बनाएको बताए । जिम्मेवार पदमा रहेका व्यक्ति अझ संयमित र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
पोखरेलले सरकारका गतिविधिले लोकतन्त्रको भविष्यमाथि संकट उत्पन्न गरेको आरोप लगाए । विद्यार्थी संगठनका गतिविधिमा प्रतिबन्ध लगाउने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संगठनलाई गतिविधि नगर्न निर्देशन दिने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।
‘राज्य यस्तो प्रकारको ठट्टा मजाकको विषय बन्न सक्दछ ? जति जिम्मेवार ओहदामा भयो, त्यति ज्यादा संयमित र जिम्मेवार हुनुपर्दछ,’ उनले भने ।
पत्रकारलाई सञ्चारमाध्यमबाटै गिरफ्तार गर्ने घटनादेखि पत्रकारप्रति जिम्मेवार पदाधिकारीले गर्ने टिप्पणीसम्मले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको पोखरेलको भनाइ थियो । उनले राज्यका गतिविधिले लोकतन्त्र कमजोर बनाएको र संविधान तथा संवैधानिक अंग निष्क्रिय बनेको आरोपसमेत लगाए ।
सरकार आफैँ बाह्य शक्तिको खेलौना बनेको हो कि भन्ने आशंका देशभित्र मात्र नभई छिमेकी मुलुकमा समेत उत्पन्न भएको उनले बताए । सरकारको नेतृत्वले भूराजनीतिक द्वन्द्वमा अपनाइरहेको व्यवहारले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको उनको टिप्पणी थियो ।