काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढीले ढुङ्गामाटोसहितको लेदो सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार तीन जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको हो ।
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि करिडोर सडकमा आवागमन रोकिएको छ । यसैगरी, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचे क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।