पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापर्वाहीलाई जिम्मेवार बनाइएको छ ।
दुर्घटनाको छानबिनका लागि पोखरा महानगरद्वारा गठन गरिएको छानबिन समितिले दुर्घटनाका सम्भावित कारण बसको प्राविधिक खराबीलगायतका पक्ष रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले दुर्घटनाको प्राविधिक, मानवीय तथा सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन पेस गरेको हो।
समितिले दुर्घटनाको वास्तविक कारण पहिचानसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विभिन्न सुधारका उपायसमेत सिफारिस गरेको छ । गत असोज २३ गते बिहान ६:३० बजेको समयमा कालिका बोर्डिङ स्कुलको ग२ख १७४७ नम्बरको बस माझठानाबाट विद्यार्थी लिएर कालिकातर्फ आउने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा पाँच विद्यार्थीसहित ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।
समितिले बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन र टायरको अवस्था दुर्घटनाका सम्भावित प्राविधिक कारणका रूपमा औँल्याएको छ । उपलब्ध मर्मत अभिलेख नियमित रूपमा अद्यावधिक भएको नदेखिएको तथा बसको नवीकरण भए पनि अनिवार्य प्राविधिक जाँचपास (फिटनेस टेस्ट) नभएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनापछि गरिएको प्राविधिक परीक्षणमा स्पष्ट गडबडी फेला नपरे पनि प्राविधिक खराबी र तीव्र गतिले दुर्घटना निम्त्याएको हुन सक्ने समितिको आकलन रहेको समिति संयोजक सुवेदीले बताए ।
चालकको बयानअनुसार बस चलाइरहेका बेला अचानक अगाडि कालो वस्तु देखिएपछि बस अनियन्त्रित भएको थियो । तर, दुर्घटनास्थलको भौगोलिक अवस्था, सडकको बनोट, दृश्यता र सम्भावित अवरोधको थप विश्लेषण आवश्यक रहेको समितिले जनाएको छ ।
प्रतिवेदनमा सडक किनारमा सुरक्षा बार, गार्डरेललगायतका पर्याप्त सुरक्षा संरचना नहुँदा दुर्घटनाको जोखिम बढेको समितिको निष्कर्ष छ । बस सडकबाट करिब २०० मिटर तल खसेकाले भिरको उचाइ र सडकको अवस्थाले दुर्घटनाको गम्भीरता बढाएको समितिले जनाएको छ ।
बसको स्वामित्व तथा सञ्चालन व्यवस्थामा पनि सुधार आवश्यक रहेको समितिले औँल्याएको छ । दुर्घटनामा परेको बस श्रद्धा भण्डारीको नाममा दर्ता रहेको र विद्यालयसँग भाडामा सञ्चालन गर्ने सम्झौता भएको देखिएको छ ।
विद्यालयको प्रत्यक्ष नियन्त्रण बाहिर रहेका सवारीसाधन प्रयोग गर्दा जोखिम बढ्न सक्ने भन्दै समितिले नियमित प्राविधिक जाँचपास र निर्धारित मापदण्ड पूरा गरेका सवारीसाधन मात्र प्रयोग गर्न सुझाव दिइएको छ ।
समितिले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, चालक तथा परिचालकको योग्यता र स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणको उपलब्धता, बिमा व्यवस्था तथा स्कुल बस सञ्चालनसम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न सिफारिस गरेको छ ।