काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपाल प्रिमियर लिग (एनपीएल) लाई आधार बनाएर खेल पर्यटनलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन्। एनपीएलले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान बढाउनुका साथै होटल, खानपान, आवास र यातायात क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग गरेको उनको भनाइ छ।
शाहले एनपीएलका आठवटै फ्रेन्चाइज टिम ठूला होटलसँग आबद्ध रहेको र खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यले लामो समय होटलमा सेवा लिने भएकाले आतिथ्य उद्योगले प्रत्यक्ष लाभ लिइरहेको बताए। विभिन्न टिमका समर्थकसमेत खेल हेर्न देशका विभिन्न ठाउँबाट काठमाडौं आउँदा पर्यटन व्यवसायलाई थप टेवा पुगेको उनले उल्लेख गरे।
‘एनपीएलले स्पोर्ट्स टुरिजमको ठूलो सम्भावनाको ढोका खोलेको छ,’ शाहले भने, ‘ठोस योजना बनाएर योजनाबद्ध रूपमा अगाडि बढ्न सके देशले अझ बढी फाइदा लिन सक्छ।’
एनपीएललाई क्रिकेट प्रतियोगितामा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुपर्नेमा जोड दिँदै उनले भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता क्रिकेटप्रेमी देशबाट पर्यटक आकर्षित गर्न सकिने बताए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलले मान्यता पाउनु र अन्तर्राष्ट्रिय टेलिभिजनमार्फत प्रतियोगिता प्रसारण हुनु नेपाललाई पर्यटन गन्तव्यका रूपमा चिनाउने अवसर भएको उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिसँगै विदेशी फ्रेन्चाइज टिमलाई नेपालमा ल्याएर खेलाउने तथा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको शाहले बताए। यसका लागि पर्यटन क्षेत्र, खेलकुद निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
शाहले अहिले पर्यटक भित्र्याउन अनुकूल मौसम भए पनि रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछि नेपाल भ्रमणको सुरक्षाबारे विदेशी पर्यटकले चासो राख्ने गरेको बताए। कुनै एउटा क्षेत्रमा समस्या देखिँदैमा समग्र नेपाल असुरक्षित रहेको सन्देश जान नदिन पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
नेपालमा पर्यटन सेवा दिन सक्ने क्षमता बढे पनि अपेक्षाअनुसार पर्यटक भित्र्याउन नसकिएको शाहले बताए। उनले यसको एउटा प्रमुख कारण अन्तर्राष्ट्रिय हवाई सम्पर्कको सीमितता रहेको उल्लेख गरे। उनका अनुसार नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता विकास गरिसकेका छन्। तर नेपाल आउने पर्यटकको वार्षिक संख्या ११ देखि १२ लाखको हाराहारीमा रहेको उनले बताए।
पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफल लिन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, प्रभावकारी प्रचारप्रसार र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए।